‘राजनीति चुनावमा गरौंला, अहिले विकास गरौं’–अध्यक्ष तिमिल्सीना

१२ पुस, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अब राजनीतिक रुपमा प्रतिस्पर्धा नगरी विकास निर्माणमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिएका छन ।

पर्वतको मोदी गाउँपालिका वडा नं. १ भुकताङ्ले स्थित नवज्योति थम माविको चार कोठे नवनिर्मित भवनको उद्घाटन गर्दै तिमिल्सिनाले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेका हुन । भौतिक पुर्वाधारका योजनाहरुमा यो दल उ दल भन्न नहुने बताउँदै राज्यको बजेट सवै ठाउँमा समान ढंगले परिचालित गर्नुपर्ने बताए । उनले राजनीतिक प्रतिस्पर्धा निर्वाचनका बेला मात्र हुने भन्दै अन्य समयमा आ–आफ्नो ठाउँका गुणस्तरीय विकास गर्न आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले कुनैपनि जनप्रतिनिधिले आफ्नो सेवामा विभेद गर्न नहुने बताए । संविधान निर्माण पछि तीनै तहमा सरकारहरु बनेको बताउँदै तिमिल्सिनाले यस्तो अवस्थामा कुनैपनि ठाउँ र कोहि पनि नागरिक राज्यको सेवावाट बञ्चित हुन नहुने बताए । उनले तीनै तहको समन्वयमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिंचाईका पूर्वाधार बन्नुपर्ने बताउँदै अब नागरिकहरु राज्यको सेवा सुविधाबाट बञ्चित भए भन्ने अवस्था आउन नदिन सचेत हुनुपर्ने बताए ।
बहुमत प्राप्त अहिलेको सरकार मुलुक र नागरिक प्रति सचेत रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अब नागरिकहरु मतदान गरेको दलले विकास निर्माण गरेन कि भनेर पछुताउनु पर्ने अवस्था नआउने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा सवै तहको ध्यान जानु उत्तिकै आवश्यक रहेको बताइएन । उनले पर्वतको शैक्षिक सुधारका निम्ति तिनै तहका सरकार जिम्मेवार हिसावले अघि बढेको बताउँदै अब सामुदायिक शिक्षा पनि प्रतिस्पर्धि हुनुपर्नेमा जोड दिइन । उनले शिक्षाको विकासका लागि प्रदेश सरकारवाट आवश्व सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर बी पौडेल, मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल, उपप्रमुख सेती महत, पुर्ननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन ईकाई शिक्षाका प्रमुख युक्तप्रसाद शर्मा लगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुलक अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत विद्यालयका प्रअ मिन कुमारी गुरुङ, र संचालन शिक्षक जगत मल्लले गरेका थिए ।