पर्वत कांग्रेसमा देखिएलान त नयाँ उमेदवार ?

१८ भदौ, पर्वत । आगामी मंसीर ४ गते हुने संघ र प्रदेश तहको निर्वाचनको लागि दलहरु आफ्नो आफ्नो तयारीमा लागेका छन् । निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि दलहरुले आफ्नो आफ्नो रणनीति समेत अवलम्बन गरीरहेका छन् । गठबन्धनको तर्फबाट साझा उमेदवार बनाउने गरी ५ दलको केन्द्रिमा रस्साकस्सी चलिरहेको बेलामा पर्वत जिल्लामा पनि त्यसको प्रभाव देखिएको छ । मुख्य गरी कांग्रेसमा नयाँ अनुहार आउनुपर्ने विषयले चर्चा पाउन थालेको छ ।

पर्वत काँग्रेसको राजनीति लामो समयदेखि सीमित ब्यक्तिगत घेरामा छ । निर्वाचन आउँदा मिलाएजस्तो देखाउने र त्यसपछि गलत्याउन सुरु गर्ने नेतृत्वको प्रबृत्तिले पर्वत काँग्रेस कमजोर बन्दै जाँदा असन्तुष्ट नेता कार्यकर्ता बोल्न थालेका छन् । उनीहरुले नेतृत्वबाट गलत काम नगर्न र सबैलाई समान दृष्टिले ब्यवहार गर्न आग्रह पनि गरेका छन् । नेपाली काँग्रेसका नेता एकनारायण न्यौपानेले पार्टीभित्र तछाडमछाडका रुपमा नेता भेटघाट र चाकडी तथा चाप्लुसीको भरमा पुरानै अनुहार र मतदाताबाट परिक्षण भइसकेकालाई पुनः टिकट दिएमा पर्वतबाट काँग्रेस बढारिने सम्झन चेतावनी दिएका छन् । २०५४ सालमा एमालेको गढ भनेर चिनिएको तत्कालिन हुवास गाविसमा अध्यक्ष पदमा निर्वाचित भएका न्यौपाने त्यसपछिका निर्वाचनमा अवसर पाएका छैनन् ।

नेपाली काँग्रेस पर्वतका उपसभापति डा.चुडामणी शर्माले सधै एउटै ब्यक्तिले मात्रै अवसर पाउँदा नेता कार्यकर्तामा बितृष्णा आउने भएकोले पर्वतमा नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्ने बताए । राजनीतिक परिवारमा जन्मिएका डा.शर्माका बाबु डण्डपाणी शर्मा २००७ सालको क्रान्तिको क्रममा यसक्षेत्रको मुक्ति कमाण्डर रहेका थिए । अहिलेसम्म पार्टीलाई योगदान गर्दै आएको र यसपटक पर्वतबाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदको एक पदमा आफुले उम्मेदवार हुन पाउनुपर्ने शर्माले दावी गरेका छन् ।

नेपाली कांग्रेस भित्र संस्थापन पक्ष र इतर पक्ष वीचको जुहारी शुरु भएको छ । संस्थापन पक्षले स्थानीय तहको निर्वाचनमा आफू निकटलाई मात्र टिकट दिएको भन्दै इतर पक्ष असन्तुष्ट छन् । अर्को तर्फ स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रसंग भएको गठबन्धनको समेत विरोध भएको थियो । गठबन्धन गरेर अर्को पाटीलाई भोट हाल्न पाटीले लगाएको भन्दै पाटीमा असन्तुष्टि समेत देखिएको थियो । यसैग वीचमा आगामी संघ र प्रदेशको निर्वाचनमा नयाँ अनुहार आउने वा पुरानै दोहोरिने भन्ने वहस शुरु भएको छ ।

२०४८ सालमा पर्वत क्षेत्र नम्बर १ बाट टिकट पाएका नवराज गुरुङ २१ बर्ष पछि पनि टिकटकै दौडधुपमा छन् । २०४८ सालमा पर्वत काँग्रेसको सभापति भएर २०५६ सालको प्रतिनिधिसभामा निर्वाचित अर्जुनप्रसाद जोशी २०७९ मंसिर ४ को निर्वाचनमा पनि दाबेदार छन् । ०५६, ०६४, ०७०, ०७४ गरी चार पटक काँग्रेसबाट टिकट पाएका उनी पाँचौ पटक उम्मेदवार बन्ने तयारीमा छन् ।

अर्थ वीट साप्ताहिकमा प्रकाशित खबर