निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई एमाले केन्द्रिय सदस्य गिरीको निर्देशन

२९ साउन, पर्वत । नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरीले निर्वाचनको तयारीमा लाग्न एमाले कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । जिल्लाको फलेवास नगरपालिकाको थापाठानामा आयोजीत कार्यकर्ता प्रशिक्षणमा बोल्दै गिरीले आगामी मंसीरमा हुने संघ र प्रदेशको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

प्रतिनिधि सभाका सांसद समेत रहेका गिरीले एमाले विरुद्धको महागठबन्धनले एमालेको शक्तिलाई कमजोर बनाउन नसक्ने भन्दै निर्वाचनको तयारीमा जुट्न अनुरोध गरे । पर्वत जिल्लाको सम्बृद्धिका लागि एमाले नेतृत्वको सरकारले जिल्लामा महत्वपूर्ण काम गरेको स्मरण गर्दै बामशक्तिकै नेतृत्वमा देश पनि सम्बृद्धिको यात्रामा अघि बढेको गिरीको भनार्ई छ ।

कार्यक्रममा नेकपा एमाले प्रदेश सचिवालय सदस्य हिरादेवी शर्मा, प्रदेश कमिटि सदस्य यदु शर्मा र जिल्ला सचिव गोविन्द पहाडीले पर्वत जिल्लामा स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको एमालेलाई पर्वत जिल्लामा निर्वाचन जित्न कुनै समस्या नरहेको उल्लेख गरे । उनीहरुले दलका आन्तरीक प्रतिस्पर्धाहरु निर्वाचनमा देखिँदा त्यसले पाटी सधै कमजोर हुने हुँदा एकताबद्ध ढङगले आगामी निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

एमालेले फलेवास नगरपालिका वडा न १, २ र ३ का कार्यकर्ताहरुलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

सो अवसरमा स्थानीय तहको समिक्षा सहित आगामी निर्वाचनको योजना समेतको विषयमा छलफल भएको नेकपा एमाले श्रोतले जनाएको छ । अर्थ वीट साप्ताहिकबाट