‘भट्टीमा मान्छे पोल्ने आलम छुट्दा, पीडितहरुको रुवाबासी नहोस्’–सांसद गिरी

१२ साउन, काठमाण्डौं । नेकपा एमाले युवा नेता तथा प्रतिनिधिसभा सदस्य पदम गिरीले पहिलेको सरकारको प्रतिशोधको भावना लिएर वर्तमान शेरबहादुर देउवा सरकारलाई काम नगर्न ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गिरीले अब यो सरकार आइसकेपछि जनताले पहिलो कुरा के प्राप्त गर्छ भन्ने चासो रहँदा ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका विजय गच्छदारलाई सामान्य धरौटीमा छुट्ने काम भएको आरोप लगाए ।

उनले भने–‘भोली कतै १२ जना मजदुरहरुलाई भट्टीमा पोल्ने आफताव आलमजस्ता मान्छेहरु छुटेर खुलेआम यही ठाउँमा आउने र ती पीडितहरु रुवाबासी हुने त होइन, यो सरकारले त्यस्ता प्रबिर्तीलाई संरक्षण त गर्ने होइन भन्ने जनतामा चिन्ता बढीरहेको छ ।’ उनले अगाडी भने–‘सरकारले अत्यन्तै सजग भएर जनताप्रति जवाफदेही भएर काम गरोस्, हामी रचनात्मक कामहरुको निम्ती सहयोग गर्न तयार छौँ । तर मुलुकप्रति प्रतिघात हुने काम गर्छ भने हामी खबरदारी गर्नेछौं ।’

यस्तै उनले देश कोरोना कहरले आक्रान्त भइरहेको स्मरण गराउँदै नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको रहेको बताए । अघिल्लो सरकारले ल्याएको १ करोड ३१ लाख खोप वर्तमान सरकारले तत्काल नेपाली जनतालाई प्रभावकारी ढंगले नागरिकहरुलाई दिलाउन नसकेको आरोप लगाए। यस्तै कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै त्यसको पूर्वतयारीमा लाग्न पनि सांसद गिरीले सरकारलाई ध्यानाकर्षण गराएका छन् ।