‘नदी उत्खनन् रोक्न पर्वतमा २४ घण्टे प्रहरी डियुटि’

११ साउन, पर्वत । कालीगण्डकी नदीमा नदीजन्य वस्तुको उत्खनन् रोक्नका लागि प्रहरीले २४ घण्टे डियुटि गरीरहेको छ । प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीका अनुसार रातको समयमा पनि प्रहरी नदी छेउ गस्तीमा खटिएको छ । कालीगण्डकी नदीबाट बालुवा तथा ढुंगा उत्खनन्का लागि अवैध तरिकाले कार्य भइरहेको गुनासो आएपछि प्रहरी नियमित गस्तीमा खटिएको प्रहरी नायव उपरिक्षक बुढाथोकीले जानकारी दिए ।

 

‘नदी उत्खनन्को कानून अनुसार अहिले स्थानीय तहलाई धेरै अधिकार दिइएकोले यसको मुख्य नियमान निकाय स्थानीय तह हुन’ पर्वत प्रहरी बुढाथोकी भन्छन्– ‘हामीले हाम्रो अधिकार क्षेत्र भित्र नै पर्ने गरी अवैध कार्य भए त्यसलाई रोक्ने र कारबाहीका लागि स्थानीय तहमा पठाउने हो ।’ उत्खनन गरेकै अवस्थामा केहि टिपर, ट्याक्टर र एक्टावेटरलाई नियन्त्रणमा लिई जरिवानाका लागि यस अघि जिल्ला समन्वय समिति र नियम परिर्वतन भएपछि स्थानीय तहमा पठाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए । नयाँ कार्यालय प्रमुखको रुपमा कार्यभार सम्हाले पनि आफ्ना कार्य योजनाहरु सुनाउँदै उनले पर्वत जिल्लाको ठूलो समस्याको रुपमा नदी उत्खनन्को विषय रहेकाले यसलाई कानून बमोजीम आफूले कार्य गर्ने उनले जानकारी दिए ।

नदी उत्खनन्को विषयलाई पत्रकार र प्रहरीसंगै धेरै जोडिने भएकाले यसलाई राज्यले कानून बमोजीम नियमान गर्न पत्रकारहरुले माग गरेका छन् । उत्खनन् गर्ने ब्यवसायीले कानून बमोजीम उत्खनन् गरी राज्यलाई तोकिएको राजश्व बुझाने वतावरणको सृजना नगरेसम्म समस्या समाधान नहुने देखिन्छ । कालीगण्डकी नदीमा पाइने नदीजन्य वस्तु गुणस्तरीय समेत हुने भएकाले यहाँ नदीको वालुवा ढुंगाहरु उत्खनन् निरन्तर हुँदै आएको छ । नदीजन्य वस्तुको उत्खनन्को ठेक्का लगाउने, नियमन गर्ने र कानून विपरित भए कारबाही गर्ने अधिकार अहिले स्थानीय तहलाई दिइएको छ ।

कुश्मा नगरपालिका , जलजला गाउँपालिका, फलेवास नगरपालिका र विहादी गाउँपालिका यो अधिकार क्षेत्र भित्र पर्दछन् । प्रहरीले अवैध उत्खनन् रोक्न खोजे पनि पालिकाले ठेक्का आब्हान गरेपछि ब्यवसायीले तोकिएको क्षेत्र भने हिउँको समयमा उत्खनन् गर्न पाउँछन् । सरकारको नियमानुसार बर्षातको समयमा भने नदी उत्खनन् गर्न नपाईन नियम छ । प्रहरीले बर्षातको समयमा हुने अवैध उत्खनन् रोक्नका लागि निरन्तर प्रयास गरीरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिएका छन् ।