पहिरोले अवरुद्ध दोविल्ला–फलेवास सडक सुचारु, मध्यपहाडी सडकको अर्मादी खण्ड अझै अवरुद्ध

२७ असार, पर्वत । सुन्दरेखोलामा आएको पहिरो र बाढिका कारण अवरुद्ध बनेको दोविल्ला फलेवास सडक खुलेको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीका अनुसार जिल्लाको दक्षिणी क्षेत्र जोड्ने उक्त सडक शनिवार देखि सुचारु बनेको हो ।

पहिरोका कारण दोविल्ला क्षेत्रमा उक्त सडक अवरुद्ध बनेको थियो । दक्षिण क्षेत्र जोडने अर्को वैकल्पिक मोदीवेनी मुडिकुवा सडक पनि अवरुद्ध भएका कारण दक्षिणी क्षेत्रको सडक सञ्जाल अवरुद्ध थियो । नगरपालिकाले पहल गरेर उक्त सडक खुलाइएको नगरप्रमुख जोशीले जानकारी दिएका छन् । खोलामा आएको पहिरोका कारण दोविल्ला फलेवास सडक विगत ३ दिन देखि अवरुद्ध थियो ।

उता, मध्य पहाडी लोकमार्ग भने अझै पनि अवरुद्ध छ । कुश्मा नगरपालिका वडा न २ खुर्कोट स्थित अर्मादीमा भिषण पहिरो खसेका कारण उक्त सडक अवरुद्ध बनेको हो । सडक शनिवार दिनभर खुलाउने प्रयास गरिए पनि सडक त्यो प्रयास सफल भएको छैन् । पर्वत प्रहरीका अनुसार पहिरोमा ठूला ढुंगाहरु समेत रहेका कारण बम विस्फोट गरी सडक खुलाउने प्रयास भइरहेको छ ।