अपडेट : दोविल्ला पहिरोका कारण तल्लो मोदी १ जलविद्युत आयोजनाको उत्पादन बन्द

२३ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ दोविल्लामा गएको पहिरोका कारण जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ । दोविल्ला भन्ने स्थानमा सुन्दरे खोलामा आएको पहिरो र बाढिका कारण तल्लो मोदी खोला १ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको हो । युनाइटेड मोदी हाइड्रोपावरद्धार सञ्चालीत आयोजनाको क्यानलमा क्षति पुगे पछि उत्पादन बन्द भएको आयोजनाका निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।

सुन्दरे खोलामा आएको पहिरोले आयोजनाको क्यानल पुरेको छ । आयोजनाको क्यानलमा क्षति पुगे पछि १० मेगावाट क्षमतामा विद्युत उत्पादन गरीरहेको आयोजनाको उत्पादन कार्य स्थगीत भएको निर्देशक गौतमले जानकारी दिए ।

पहिरोका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध छ । यसैगरी सोहि पहिरोले जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दोविल्ला फलेवास सडक खण्ड पनि बगाएको छ । पहिरोले लोकमार्गमा कार्यरत १ ईन्जिनियर सहित आयोजना कै सवारी चालकलाई समेत बगाएको छ । पहिरोले आयोजनाको गाडी सहित कर्मचारीहरुलाई पनि बगाएको हो ।
पहिरोले अस्थायी रुपमा सञ्चालन हुँदै आएका ४ वटा घुम्ति पसलहरु पनि बगाएको छ ।

पहिरोमा परि १ स्कुटर र २ वटा मोटसाइकल पनि वगेका छन् । पहिरोमा परी हराईरहेका इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारुको खोजी कार्य भइरहेको छ । बर्षातका कारण मोदी खोलामा पानीको वहाब बढेकाले उद्धार तथा खोजी कार्य भने प्रभावित बनेको छ । पहिरो गएको सुन्दरे खोला १ सय मिटर बगेपछि मोदी खोलामा मिसिन्छ ।
प्रहरीका अनुसार हराईरहेको गाडी फेला परे पनि वेपत्ता भएकाहरु पत्ता लागेको छैन् ।