दुर्लुङ पहिरोको एक बर्ष : मृतकको सम्झना गर्दै दुर्लुङबासी

३१ जेठ, पर्वत । आजको ठिक १ बर्ष अघि पर्वतको दुुर्लुङमा भिषण पहिरो गएको थियो । पहिरोमा परी ९ जनाको मृत्यु भएको थियो । साँझको समयमा आएको ठूलो बर्षातले दुर्लुङको ढकालबारीमा भिषण पहिरो गएको थियो । पहिरोमा परी २ वटा पुरिएका थिए भने त्यो घरमा रहेका ९ जनाकै मृत्यु भएको थियो । पहिरोमा परी मृत्यु भएकाहरुको सम्झनामा आज दुर्लुङमा स्थानीयबासीले दिप प्रज्वलन गरेका छन् ।

पहिरोमा मृत्यु भएको सम्झनामा स्थानीयले दिर्पा बिबेक अजर अमर स्मृति प्रतिष्ठानको गठन गरेका छन् । प्रतिष्ठानका अध्यक्ष महेन्द्र गुरुङ सहित स्थानीयले आज पहिरोमा परेर मृत्यु भएकाको स्मरण गर्दै दिप प्रज्वलन गरेका छन् । कार्यक्रममा स्थानीय बासीले पहिरोमा परेर मृत्यु हुनेको सम्झना गरेका थिए ।

मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै अकालमा ज्यान गुमाएकाहरु प्रति मौन धारण गरेका थिए । स्थानीयले पर्वत जिल्लाकै लागि ठूलो मानवीय क्षति भएको उक्त पहिरोले अझै पनि दुर्लुङबासीको मन झस्काइरहने भन्दै यस्तो विपत्तिको सामना कहिल्यै गर्न नपरोस भन्ने कामना गरेका छन् । सचिव रामचन्द्र पौडेलले स्मृति कार्यक्रमको सञ्चालन गरेका थिए ।

गत बर्ष जेठ महिनाको ३१ गते राती गएको पहिरोका कारण २ परिवारका ९ सदस्य पहिरोमा पुरिएका थिए । राती सुतिरहेको बेलामा भीषण बर्षातसंगै आएको पहिरोले २ घर बगाउँदा ति घरमा रहेका सवै ९ जना पहिरोमा पुरिएका थिए ।

६२ बर्षका तुल बहादुर थापा, ६० बर्षकी मिन कुमारी थापा, ३४ बर्षिया दिर्पा थापा, ११ बर्षिया विविसा थापा, १५ बर्षको सम्प्राट थापा र १७ बर्षको विवेक थापाको पनि मृत्यु भएको थियो ।

यसैगरी अर्को परिवारका ३२ बर्षकी कमला विक, ८ बर्षकी प्रमिशा विक, १४ बर्षका जेनिस विक थियो । पहिरोमा परी हराइरहेका उनीहरु मध्ये केहिको सोहि दिन शव फेला परे पनि जेनिसको शव भने ४ दिन पछि मात्र फेला परेको थियो । गत बर्ष जेठ ३१ गते राती करिब ८ बजेको समयमा गएको पहिरोका कारण उनीहरु पुरिएर बेपत्ता भएका थिए ।