आजबाट पर्वत जिल्ला भर निषेधाज्ञा

२८ वैशाख, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले कोरोना संक्रमणलाई नियन्त्रण गर्ने भन्दै आज देखि लागू हुने गरी जिल्ला भर निषेधाज्ञा जारी गरेको छ । यस अघि पर्वतको सदरमुकाम कुश्मा बजार र जलजला गाउँपालिकाका केहि स्थानहरुमा मात्र निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय पर्वतले आज देखि लागू हुने गरी जिल्ला भर सो नियम लागू गरेको हो ।

सरुवा रोगको रुपमा फैलिएको कोरोना भाइरसको कोभिड १९ नामक रोगलाई नियन्त्रण गर्नका लागि जिल्ला भर विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय पर्वतद्धारा जारि विज्ञप्तिमा उल्लेख गरिएको हो । निषेधाज्ञा आगामी जेठ ७ गतेसम्म लागू हुनेछ ।

भाइरस नियन्त्रणका लागि यस अघि जिल्लाको सदरमुकाममा मात्र सो नियम लागू गरिएको थियो । सरुवा रोग संक्रामक ऐन बमोजीम रोग नियन्त्रण नआएर झन बढ्दै गएको निश्कर्ष सहित प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले यस्तो आदेश गरी गरेकी हुन् । जिल्ला भर लागू हुने यो नियम आज विहानै देखि लागू भएको छ । नियमानुसार अत्यावश्यक बाहेकका सवारी साधन तथा पसलहरु बन्द हुनेछन् ।

मानिसहरुलाई पनि आवश्यक बाहेकका काममा बाहिर ननिस्कन कडाई गरिएको छ । वैक तथा वित्तिय संस्थाहरु आलोपालो गरी सञ्चालन गर्ने नियम बनाइएको छ भने, सरकारी कार्यालयहरुमा अत्यावश्यक बाहेकका कामहरु पनि पूर्ण रुपमा बन्द गरिएको छ । प्रशासन कार्यालयले यस्तो नियम उल्लघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर नियमानुसार कारबाही गर्ने कुरा उल्लेख गरेको छ ।

भाइरसका कारण अहिले ३ सय ४ जना संक्रमीत भइसकेका छन् । यो दोस्रो लहरबाट संक्रमीत हुनेको संख्या हो । भाइरसकै कारण अहिलेसम्म पर्वतमा १३ जनाले ज्यान गुमाई सकेका छन् ।