संक्रमीत र सुत्केरी महिलाको लागि मोदी गाउँपालिकाले निशुल्क सवारी उपलब्ध गराउने

२६ वैशाख, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले गर्भवती, सुत्केरी महिलाहरूमा कुनै समस्या भएमा तथा कोभिड १९ सँग सम्बन्धी कुनै समस्या भई अस्पताल जानुपर्ने भएमो निशुल्क सवारी साधनको व्यवस्था गरेको छ । गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेका अनुसार गाउँपालिकाले समस्यामा परेका विरामीहरुका लागि निशुल्क सवारी साधन उपलब्ध गराउने ब्यवस्था गरेको हो ।

गर्भवती तथा सुत्केरी महिलालाई समेत यो बेलामा संक्रमणका कारण समस्यामा परेपछि उनीहरुलाई समेत लक्षित गरी सवारी साधनको ब्यवस्थापन गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए । गाउँपालिका भित्रका सवै संक्रमीतहरुलाई तत्काल समस्या परेको बेलामा सहयोग पुगोस भनेर गाउँपालिकाले कोभिड पोजेटिभ देखिएकाहरुको लागि समेत सवारी उपलब्ध गराउदै आएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल बताउँछन् । गाउँपालिका भित्रका कोहि पनि नगारिकलाई कुनै पनि समस्या आइपरेमा आफ्ना जनप्रतिनिधिलाई तत्काल खबर गर्न अध्यक्ष पौडेलले आग्रह गरे ।

गाउँपालिका भित्र सवारी साधनको समस्या परेमा ९८४६०६८२०५ वा ९८५७६३०६४३ मा सम्पर्क गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले अनुरोध गरेका छन् । गाउँपालिका भित्रका दीर्घविरामीको नियमित सेवन गर्ने औषधीको आवश्यकता परेमा समेत ९८५७६२०५५७ मा सम्पर्क गर्नका लागि प्रशासकीय अधिकृत क्षेत्रीले आग्रह गरे । उनले गाउँपालिकाले अत्यावश्यक सवै प्रकारको सेवाहरु निरन्तर उपलब्ध गराउँदै आएको समेत जानकारी दिए । कोभिडको दोस्रो लहरलाई न्यूनिकरण गरी पोजेटिभ देखिएका विरामीहरुको उपचार र उद्धारका लागि गाउँपालिका सवै खालको सहयोग गर्ने क्षेत्रीको भनाई छ ।

गाउँपालिकाले निशुल्क परिक्षण देखि पोजेटिभ भएका विरामीलाई अस्पतालसम्म लैजाने प्रवन्ध समेत मिलाएका कारण कोहि पनि नागरिकले आफू एक्लो भएको महशुस नगर्न वडा न ६ का वडा अध्यक्ष समेत रहेका प्रवक्ता लामिछानेको भनाई छ । पोजेटिभ देखिएर पनि लक्षण नभएकाहरु घरमै सुरक्षित बस्न र लक्षण देखिएमा वा थप जटिलता आएमा तत्काल जनप्रतिनिधि वा स्वास्थ्यकर्मीलाई खबर गर्न उनले अनुरोध गरे ।