पर्वतका अग्रज पत्रकार शर्मा सहित १६ पत्रकार राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि छनौट

२१ वैशाख, पर्वत । केही वर्षदेखि सरकारले वितरण गर्न थालेको २ लाख राशिको वरिष्ठ पत्रकार र १ लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार गत वर्ष कोरोना महामारीका कारण वितरण हुन सकेन । विगत वर्षजस्तै यसपटक पनि कोरोना महामारीको चपेटामा मुलुक छ ।

महामारी नियन्त्रण निम्ति उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन लगाइएको छ । यद्यपि, यसपटक भने दुई वर्षकै एकमुष्ट १६ पत्रकारलाई २०७८ वैशाख २४ गते यी दुवै शीर्षकका पुरस्कारबाट पुरस्कृत गरिने भएको छ ।

पुरस्कारबाट पर्वतका बरिष्ठ पत्रकार दुर्गाप्रसाद शर्मालाई राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ का लागि छनौट गरिएको छ । शर्मा प्रेस चौतारी नेपालका पूर्व बरिष्ठ उपाध्यक्ष हुन् । चौतारीको वर्तमान केन्द्रिय समितिका सल्लाहकार सदस्य समेत रहेका शर्मा विगत २ दशक देखि पत्रकारिता पेशामा आवद्ध छन् । पत्रकार महासंघ पर्वतको संस्थापक तथा पूर्व अध्यक्ष समेत रहेका शर्मा कालीगण्डकी दैनिक पत्रिका तथा न्यूज डबली अनलाईनका सम्पादक समेत हुन् । शर्माले सरकारबाट १ लाख राशीको पुरस्कार पाउनेछन् ।

पुरस्कार वितरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सचिव हरि बस्यालको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । जसमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष गोविन्द आचार्य र वरिष्ठ पत्रकार तीर्थ कोइराला, सहसचिव शोभाकान्त पौडेल, सञ्चार मन्त्रीका सञ्चार विज्ञ राजेन्द्र मानन्धर र उपसचिव संगीता ओझालगायतलाई सदस्य तोकिएको थियो

समितिले २०७६ सालको वरिष्ठ पत्रकार पुरस्कार हर्ष सुब्बा र अग्नि शिखाको नामबाट परिचित स्वर्गीय पत्रकार शुकदेव नेपाललाई मरोणपरान्त प्रदान गरिने भएको छ । वर्ष २०७७ का लागि भने रघु मैनाली र शार्दुल भट्टराईको नाम छनौट भएको छ । वरिष्ठ पत्रकार पुरस्कारको राशि जनही रु.२ लाख रहेकोछ ।

जनही १ लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्न १२ पत्रकार छानिएका छन् । राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट इन्द्रमान बुढा (उजिर मगर), मात्रिका पौडेल, संगीता खड्का, शेषराज दाहाल, हेमन्त विके र शीतल शाहलाई पुरस्कृत गर्ने टुंगो लागेको छ । वर्ष २०७७ का लागि भने शर्मासंगै दिलीप थापा मगर, दीपेन न्यौपाने, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेललाई पुरस्कृत गर्न समितिले सिफारिस गरेको छ ।

समितिले पुरस्कारका लागि छनौट गरेको नाम मन्त्रालयलाई बुझाएको छ । समितिकै सिफारिसका आधारमा सञ्चार मन्त्रालयले १६ पत्रकार पुरस्कृत गर्ने मन्त्रीस्तरीय निर्णय लिएको बताइएको छ ।

सञ्चार मन्त्रालयले सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीकै हातबाट पुरस्कार बाँड्ने योजना बनाएको थियो । तर देशमा चलेको महामारी र निषेधाज्ञाका कारण राष्ट्रपति विद्यादेवी भण्डारीकै हातबाट पुरस्कार वितरण कार्यक्रम नहुने भएको छ । पुरस्कार वितरण को बाट वितरण गर्ने भन्ने टुंगो लाग्न भने बाँकी नै छ । तर पुरस्कार भने निषेधाज्ञाबीच स्वास्थ्य मापदण्ड पालना गरेर वितरण गर्ने तयारी गरिएको श्रोत बताउछ ।