कुश्मा बजारमा आज देखि निषेधाज्ञा, पसल खोल्न र सवारी साधन सञ्चालनमा प्रतिबन्ध

१९ वैशाख, पर्वत । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला स्तरीय कोराना रोकथाम जिल्ला समन्वय समितिले वैशाख १९ गते देखि एक हप्ता कुश्मा बजारमा निषेधाज्ञा सहितको लक डाउन गर्ने निर्णय गरेको छ । निषेषज्ञा सहितको प्रतिबन्दका कारण सदरमुकाम कुश्मा बजारका पसलहरु बन्द भएका छन् । बजार क्षेत्रमा नीजि सवारी साधनहरु सामान्य रुपमा सञ्चालन भए पनि सवारी साधन सञ्चालनमा पनि प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आज विहान देखि एक हप्ता सदरमुकाम कुश्मा बजार भित्र सवारी साधन बन्द गर्ने निर्णय गरेको हो । प्रतिबन्दका वीच अत्यावश्यक बाहेकका पसलहरु पनि बन्द हुनेछन् ।

अत्यावश्यक बाहेक कोहि पनि घरबाट बाहिर ननिस्कन समेत प्रशासन कार्यालयले सर्वसाधरणलाई आग्रह गरेको छ । अत्यावश्यक सेवा अन्तर्गतका पसलहरु पनि विहान र साँझको समयमा मात्र खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेको भनाई छ ।