पर्वतमा अस्पतालमा कोरोना परिक्षण गरेका ५० प्रतिशतमा संक्रमण

१७ वैशाख, पर्वत । कोरोना संक्रमणको दोस्रो लहर पहिलो लहर भन्दा उच्च दरमा फैलिरहेको छ । पर्वत अस्पतालका अनुसार उपचारका लागि आएका विरामी मध्ये ५० प्रतिशतमा संक्रमणको देखिएको छ । अस्पतालका निमिक्त कार्यालय प्रमुख डा. ढुण्डिराज पौडेलका अनुसार विगत १ हप्तामा कुल ३४ जनाको एन्टिजिन परिक्षण गरिएको छ ।

परिक्षण गरिएका मध्ये कुल १८ जनामा संक्रमण पुष्टि भएको डा. पौडेलले जानकारी दिए । लक्षण सहित उपचारका लागि आएका विरामीको परिक्षण गर्दा संक्रमण पुष्टि भएको डा. पौडेलको भनाई छ । उनले लक्षण सहित पुष्टि भएकाहरुको परिवारको समेत परिक्षण गरिएको जानकारी दिए । परिवार समेतको परिक्षण गर्दा कुल संक्रमण दरको प्रतिशत घटे पनि लक्षण सहित आएका विरामीको संक्रमण दर भने उच्च रहेको उनको भनाई छ ।

विहिबार मात्रै ६ जनाको परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको थियो । गत एक सातामा भने कुल ३४ जनालाई परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ । यो दर हेर्दा आधा संख्याको हाराहारीमा देखिए पनि लक्षण सहित आएका विरामी संक्रमीत भएको दर भने ८० प्रतिशत भन्दा बढि छ । ज्वरो, रुघा र खोकी सहितको लक्षण लिएर विरामी परिक्षणका लागि अस्पताल आउने गरेको डा. पौडेलको भनाई छ । लक्षण सहित आएका सवै जनाको एन्टिजिन परिक्षण गरिएको डा. पौडेलले जानकारी दिए ।

परिक्षण गरेर संक्रमण पुष्टि भएकालाई भने होम आइसोलेसनमा राखिएको छ । अवस्था जटिल भएमा वा अक्सिजन लिनुपर्ने भएमा मात्र अस्पतालमा भर्ना गरिने उनले जानकारी दिए । जिल्लामा अहिले परिक्षण गर्न आउनेमा संक्रमण पुष्टि हुने दर बढेर गएको छ । परिक्षणको लागि नआउने अन्य ठूलो संख्यामा पनि संक्रमण भएको हुनसक्ने स्वास्थ्यकर्मीले अनुमान गरेका छन् ।

यसै वीच कुश्मा नगरपालिकाले नगरपालिकाको बजार क्षेत्रमा लक डाउन गर्न जिल्ला प्रशासन कार्यालय पर्वतलाई अनुरोध गरेको छ । बजार क्षेत्रमा बढि भिडभाड भइरहेको र संक्रमणको फैलावाटको दर पनि उच्च रहेको नगरपालिका श्रोतको भनाई छ ।