कोरोना संक्रमण : पर्वतमा सक्रिय संक्रमीत ३६ जना

११ वैशाख, पर्वत । कोरोना भाइरस फैलिएर फेरि देशव्यापी बनेको छ। यूके भेरियन्टको बढ्दो संक्रमणसँगै जनस्वास्थ्यका मापदण्ड उल्लंघनका कारण ७७ वटै जिल्लामा संक्रमण पुष्टि भएको छ। सक्रिय संक्रमितकै संख्या १४ हजार ७ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मुलुकभर शुक्रबार मात्रै २ हजार ५ सय ५९ जना संक्रमित थपिएका छन्। ७५ जना क्वारेन्टाइनमा छन्। सघन उपचार कक्ष आईसीयूमा १ सय ७३ र भेन्टिलेटरमा ५७ जना उपचाररत छन्। मन्त्रालयको तथ्यांकले सबै उमेर समूहमा कोरोना पुष्टि भएको देखाएको छ। दैनिक संक्रमणको अवस्था हेर्दा २० देखि २९ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी संक्रमित भइरहेका छन्।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बागमती र लुम्बिनी प्रदेशमा संक्रमितको संख्या बढेको छ। बागमतीका काठमाडौं र ललितपुरमा ५ सयभन्दा बढी संक्रमित उपचारार्थ भर्ना भएका छन्। लुम्बिनीका बाँके र रुपन्देहीमा उपचारार्थ भर्ना हुने संक्रमितको संख्या ५ सय नाघेको छ। सीमावर्ती जिल्लामा संक्रमितको संख्या बढ्नुमा खुला सिमाना र हेलचेक्रयाइँ नै मुख्य कारक रहेको विज्ञको ठम्याइ छ।

‘कोरोना संक्रमणले सीमापारि भारतमा भयावह अवस्था ल्याउने बित्तिकै यहाँ सतर्कता अपनाउनुपथ्र्यो’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेल भन्छन्, ‘सीमा सिल गर्ने, परीक्षण गर्नेतर्फ ढिलाइ भयो। आवतजावत निर्वाध हुँदा संक्रमितको संख्या बढ्यो।’ भारतबाट फर्किएका व्यक्तिहरू जोखिमयुक्त ठूला सहर हुँदै सार्वजनिक यातायात चढेर घर पुग्ने गरेका छन्।

जनस्वास्थ्य मापदण्ड पालना नगरेका कारण पहाडी एवं हिमाली जिल्लामा पनि संक्रमण फैलन पुगेको डा. प्याकुरेल बताउँछन्।

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीका अनुसार सीमा नाकालाई व्यवस्थित गर्न सरकार चुकेका कारण संक्रमणदर बढेको हो। ‘जनशक्ति, क्वारेन्टाइन, होल्डिङ सेन्टरको व्यवस्था गरिसक्नुपथ्र्यो। अझै तुरुन्तै घरभाडामा लिएर भए पनि व्यवस्था गर्न सकिन्छ’, डा। मरासिनी भन्छन्, ‘तर, अब पनि ढिलाइ गर्दा झन् भयावह हुन्छ।’ अन्तर्राष्ट्रिय नाकाहरूमा कडाइ गर्ने र सीमावर्ती प्रवेश विन्दुमा चौबीस घण्टा राखेर ज्वरो नाप्ने, स्वास्थ्य जाँच गर्ने कार्य गर्नुपर्ने सुझाव डा। मरासिनी दिन्छन्। मन्त्रालयले संक्रमणको अवस्था हेरि ठूला सहरहरूमा ५ सयभन्दा बढी र साना सहरहरूमा १ सयभन्दा बढी सक्रिय संक्रमित देखिए ती स्थानमा आवागमन व्यवस्थित गर्नुपर्ने सिफारिस गरेको छ। डा। मरासिनीका अनुसार पीसीआर परीक्षणको दायरा विस्तार र संक्रमितको उपचारलाई प्रभावकारी बनाउने कार्य एकसाथ अघि बढाउनुपर्ने देखिन्छ। मन्त्रालयका अनुसार ६ वटा प्रयोगशाला सञ्चालनमा आउन सकेका छैनन्। निजी ३६ सहित ८६ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको छ।

भारतमा भयावह भइरहेका बेला तत्काल रणनीति अपनाई कार्यान्वयन गर्नुपर्ने विज्ञ बताउँछन्। डा। मरासिनी कोरोना संक्रमण नियन्त्रण र उपचार व्यवस्थापन नै अहिलेको चुनौती भएकाले बजेट व्यवस्थापन गर्नुपर्ने बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन कन्ट्याक्ट ट्रेसिङलाई पनि प्राथमिकता दिनुपर्ने बताउँछन्। ‘व्यापार व्यवसायलगायत कतिपय सामाजिक कारणले पनि संक्रमित व्यक्तिहरू कन्ट्याक्ट ट्रेसिङमा आउन नचाहने हुन्छन्। यसतर्फ पनि राज्य चनाखो हुनुपर्छ’, डा. पुन भन्छन्। कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा विस्तार गर्ने हो भने संक्रमितको संख्या अहिले देखिएभन्दा बढी हुन सक्ने डा. पुनको भनाइ छ। सम्भावित संक्रमित र संक्रमितकोे आवतजावतको यकिन गरी उनीहरूलाई आइसोलेसनमा राख्न अनुगमन गर्ने विधि ट्रेसिङ कार्य हो। यसका लागि मन्त्रालयले मातहतबाट खटिएका टोलीहरू कल सेन्टरहरू, मोबाइल एप र वेबसाइटमार्फत ट्रेसिङ कार्यलाई थप व्यवस्थित गर्न सकेको छैन। ‘समुदायमा गएर सेरो प्रिभिलेन्स गर्न पाएको भए संक्रमणको अवस्था जानकारी पाउन सकिन्थ्यो। अहिले संक्रमणको अवस्थाभन्दा खेरी बिनाप्रमाणको हुन पुग्छ’, डा. पुन भन्छन् ।

शुक्रराज अस्पतालका निर्देशक डा। सागरकुमार राजभण्डारी कोभिडबाहेक बिरामी भर्ना बन्द गरिएको बताउँछन्। ‘यूके भेरियन्ट संक्रमण पनि बढ्दै गएको छ। भाइरल लोड पनि बढी नै हुन्छ। संक्रमण उच्च भए पनि उपचार व्यवस्थापनमा गाह्रो पर्ने देखिइसकेको छ’, निर्देशक डा. राजभण्डारी भन्छन्।