कालीगण्डकी लोकमार्गको पर्वत खण्ड : पुरै खण्डमा १ सय मिटर ट्रयाक्क खन्न बाँकी

६ वैशाख, पर्वत । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डको अधिकांश ट्रयाक्क खुल्ला भएको छ । लोकमार्गको दक्षिणी क्षेत्र विहादीको शालिग्राम देखि उत्तरी क्षेत्र जलजलाको वारीवेनीसम्म पर्वत खण्ड पर्दछ । लोकमार्गले उत्तरमा चिनमा दक्षिणमा भारतसम्मको यातायातलाई सहज बनाउँछ । उक्त सडक खण्ड अन्तर्गत पर्वतको झण्डै ४० किलोमिटरको निर्माण कार्य दक्षिण क्षेत्रबाट शुरु भएको छ । दक्षिणी पर्वतको शालिग्राम देखि रानीपानीसम्मको सडक कालोपत्रेको लागि टेण्डर आब्हान भइ काम भइरहेको छ ।

उता, रानीपानी देखि फलेवास ढिकसम्मको सडक कालोपत्रेका लागि पनि टेण्डर आब्हान भई निर्माण कम्पनीले सम्झौता गरीसकेको छ । बाँकी फलेवास ढिक देखि अर्मादीसम्मको खण्डमा अझै १ सय मिटर ट्रयाक्क खन्न बाँकी रहेको छ । ट्रयाक्क खन्ने कार्यका लागि जिम्मेवारी पाएको सूर्य कन्ट्रक्सनले लामो समय देखि निर्माण कार्य वीच बाटो मै छोड्दा निर्माण कार्य अलपत्र परेको हो ।

केहि महिना देखि निर्माण कार्य शुरु गरेको कम्पनीको डोजर दुर्घटनामा परेपछि पुनः निर्माण कार्य रोकिएको छ । सडक खण्डको मोदीवेणी खण्डमा सडक खन्ने क्रममा चालक सहित डोजर सडकबाट कालीगण्डकी नदी किनार छेउ खसेको थियो । दुर्घटनामा चालक गम्भिर घाइते भएका छन् । उक्त खण्डमा झण्डै १ सय मिटर ट्रयाक्क खन्न बाँकी छ ।

पत्थर युक्त भिर भएका कारण ट्रयाक्क खन्ने कार्य निकै कष्टपूर्ण भएको आयोजनाका प्रमुख सुवोध देवकोटाले जानकारी दिए । उक्त सडकको ट्रयाक्क खन्ने कार्य सकिएपछि जिल्लाको लोकमार्गको पुरै खण्डको ट्रयाक्क पुरा हुन्छ । योसंगै बाँकी रहेको फलेवास देखि अर्मादीसम्मको सडक कालोपत्रेको बजेट उपलब्ध हुँदा सडकको सवै निर्माण कार्य सम्पन्न हुन्छ ।

बाँकी खण्डलाई कालोपत्रे गर्ने गरी संघीय सरकारबाट बजेट ब्यवस्थापनको तयारी भइरहेको संघीय सांसद पदम गिरीले जानकारी दिए । उनले यस अघिका सवै खण्डको लागि आवश्यक बजेटको सुनिश्चितता भइसकेको भन्दै बाँकी खण्डको निर्माण कार्य पुरा गर्नका लागि कागजात तयार भएको र बजेटको सुनिश्चिता छिट्टै हुने जानकारी दिए । उता, सडक खण्डको मोदीवेणी घाटमा मोदी खोला माथि मोटरेवल पुलको निर्माण सम्पन्न भइसकेको छ ।