पर्वतका ३४ सामुदायिक वनमा आगलागी

३१ चैत, पर्वत । बनजंगलमा आगालागी बढ्न थालेको छ । गर्मीयाम संगै जिल्लाका सामूदायिक बनमा आगालागीका घटना बढेका हुन् । डिभिजन बन कार्यालय पर्वतका अनुसार जिल्लाका ३४ वटा सामूदायिक बनमा आगालागी भएको छ । जलजला गाउँपालिका ८ नाग्लीवाङ, फलेवास ३ शंरकपोखरी, मोदी २ र ३ को भवरकोट, चिसापानी लगायतका जंगलमा भीषण आगो लागेको छ । गएराती जलजला ८ नाग्लीवाङको बनमा लागेको आगो बस्तीमा प्रवेश गर्ने खतरा बढेको छ ।

वडाध्यक्ष हरिविकास जिसीले आगो वस्तीमा पस्ने खतरा रहेकाले घर खाली गर्न र आगो निभाउने काममा खट्न स्थानीयलाई अनुरोध गरेको बताए ।  हिजो दिउँसो देखि लागेको नियन्त्रणमा समस्या भएपछि जिल्लाबाट सुरक्षाकर्मी मगाएको जिसीले जानकारी दिए । शालिग्राम सामूदायिक बन, गिठिनी सामूदायिक बन, राधाकृष्ण सामूदायिक बनमा भिषण आगालागी भएको छ । खानेपानीका पाईप डढेलोले सखाप पारेपछि गाउँमा खानेपानीको हाहाकार भएको वडाध्यक्ष जिसीले जानकारी दिए । गाउँभन्दा माथीको भीरमा आगालागी भएको छ ।

सुख्खा पहिरो खस्ने संभावना रहेकाले सचेत हुन पनि स्थानीय सरकारले अनुरोध गरेको छ । जिल्लाको फलेवास नगरपालिकामा रहेका राक्से सामूदायिक बन र जयशंकर सामूदायिक बनमा लागेको आगो पनि बढ्दै गएको छ । विगत तीनदेखि लागेको आगो स्थानीयले निभाउन सकेका छैनन । मुडिकुवा स्थित चुरी सामूदायिक बनमा लागेको आगो पनि नियन्त्रणमा लिन सकिएको छैन । बनमा लागेको आगो निभाउने प्रयास गरेपनि नसकिएको मुडिकुवाका घनश्याम भुसालले जानकारी दिए । ।

पर्वतमा यस वर्ष करिब २ सय हेक्टरभन्दा बढी क्षेत्रफलको बनमा आगलागी भएको छ । डिभिजन बन कार्यालयका प्रमुख मेघनाथ पौडेलले गर्मी बढ्दै जाँदा आगालागीका घटना पनि बढेको बताए ।  पौडेलका अनुसार अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचक्र्याँइले गर्दा वनमा धेरै डढेलो लागेको हो । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । पौडेलले सबै सरोकारवाला निकायको समन्वय, सामुदायिक वनहरुको सञ्जाल, स्थानीय प्रशासन र स्थानीय बासिन्दासँंगको समन्वयमा आगलागी हुने बित्तिकै निभाउन जाने गरिएको बताए ।  पछिल्लो समय डिभीजन वन कार्यालयले माईकिङ्ग, रेडियो तथा पत्रपत्रिकावाट प्रचार प्रसारलाई समेत तिब्रता दिएको जनाएको छ ।