नेपालको शैक्षिक नीति सुधार गर्नुपर्छ : सांसद गिरी

१५ चैत, पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले नेपालको शैक्षिक नीतिमा सुधारको आवश्यकता औल्याएका छन् । पर्वत जिल्लाका सामुदायिक क्याम्पसहरुको सुधारका लागि स्थानयि सरकारको भूमिका विषयका अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद गिरीले शैक्षिक नीति कै कारण नेपालका शिक्षा प्रणालीमा समस्या आइरहेको बताए ।

उनले संविधानले प्रदत्त निशुल्क शिक्षाको अधिकार सवै जनताले पाउनुपर्ने बताए । नीजि क्षेत्रलाई शैक्षिक गतिविधिहरु सञ्चालन दिने अवस्थासम्म शिक्षामा समानता नआउने गिरीको भनाई थियो । नीजि क्षेत्रको ब्यापारीकरणका कारण देशका कयौ गरिब बिद्यार्थीहरु मारमा परेको गिरीको भनाई छ । कार्यक्रममा बोल्दै गिरीले भने–‘शैक्षिक माफियाका कारण शैक्षिक अवस्था झन कमजोर बन्दै गएको छ ।’ सरकारले शिक्षा नीति परिर्वतन गर्न खोज्दा तिनै शैक्षिक माफियाहरुका कारण नीति निर्माणमा समेत प्रभाव परीरहेको गिरीले खुलासा गरे । देशको नीति निर्माण तहमै शैक्षिक माफियाहरुको पहुँच भएका कारण नीति परिर्वतन हुन नसकेको गिरीको भनाइ छ ।

पर्वतको विहादी गाउँपालिकाको वहाकी सामुदायिक क्याम्पसले आयोजना गरेको कार्यक्रममा बोल्दै गिरीले नीजि र सरकारी शैक्षिक नीतिका कारण शैीक्षक विकासमा समस्या परीरहेको जिकिर गरे ।

कार्यक्रममा पैयू गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल तथा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले उच्च शिक्षा सञ्चालन तथा ब्यवस्थपनमा स्थानीय सरकारको भूमिका विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सामुदायिक क्याम्पस जिल्ला समितिका अध्यक्ष गोविन्द पहाडी र स्थानीय प्राध्यापक खगेश्वर न्यौपानेले सामुदायिक क्याम्पसहरु सञ्चालनमा स्थानीय तहको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

विश्व विद्यालय अनुदान आयोग र विहादी गाउँपालिकाको सहयोगमा बहाकी सामुदायिक क्याम्पसले उक्त कार्यक्रमको आयोजना गरेको थियो । २ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा वहाकी क्याम्पसका प्रमुख एकनारायण भट्टराईले कार्यक्रमको औचित्यको विषयमा जानकारी गराएका थिए ।