सांसद गिरीको सिफारिसमा रणनैतिक सडक अन्तर्गत माझफाँट–लेकफाँट–नागी सडक कालोपत्रे हुने

१३ चैत, पर्वत । जिल्लाको जलजला गाउँपालिकाका स्थानीय र प्रतिनिधि सभाका सांसद वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जलजलाको वडा न २ माझफाँटमा आयोजीत कार्यक्रममा सांसद गिरीले जलजलाको गौरबको आयोजनाको रुपमा वारीवेनी माझफाँट हुँदै लेकफाँट नागी सडक संघीय सरकारको रणनैतिक योजनामा समावेश गरिएको जानकारी गराएका छन् ।

गिरीले निर्वाचनमा आफूले गरेका प्रतिबद्धता बमोजीम नै आफू विकास योजनाहरु जिल्लामा भित्राउन प्रयासरत रहेको समेत जानकारी दिए । उनले केहि बर्ष अघिसम्म लाखका योजनाहरु गाउँमा आउँदा खुशी हुनेहरु अहिले करोडका योजना आउँदा पनि खुशी हुन नसकेको बताए । जिल्लामा करोडका धेरै योजनाहरु भित्रिएको बताउँदै गिरीले केहि बर्षमा जिल्ला सम्बृद्ध बन्ने समेत बताए ।

सो अवसरमा सांसद गिरीले झण्डै ५० करोडको लागतमा वारी वेनी देखि माझफाँट हुँदै लेकफाँट नागी जाने सडक संघीय सरकारबाट कार्यान्वयन हुने गरी आफूले योजनामा समावेश गराएको जानकारी गराए । उक्त सडक एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्तर्गत कालोपत्रे हुनेछ । संघीय सरकारले सांसदको सिफारिसमा कालोपत्रे गर्ने सडक मध्ये उक्त सडकलाई कालोपत्रेको लागि छनौट गरिएको हो ।

सरकारले संघीय सांसदको सिफारिसमा रणनैतिक सडक कायम गरी देशभरका निर्वाचन क्षेत्रमा एउटा नमुना सडक निर्माण गर्न कार्यक्रम अघि बढाएको छ । उक्त कार्यक्रममा सांसद गिरीले वारी वेनी देखि माझफाँट हुँदै लेकफाँट देखि नाघि पुग्ने सडक कालोपत्रे गर्ने गरी छनौट भएको जानकारी गराएका हुन् । उक्त सडकले जलजलाका धेरै वडाहरुका स्थानीय लाभान्वित हुने सांसद गिरीको भनाई छ ।