शरीरमा एक थोपा रगत रहुँञ्जेल भारतसंग सत्ताको भिख माग्नु हुँदैन : सांसद गिरी

१५ फागुन, पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीले शरीरमा एक थापा रगत रहुञ्जेल भारतसंग झुकेर सत्ताको भिख माग्न नहुने बताएका छन् । सार्वभौम राष्ट्रका नागरिकले विदेशीसंग सत्ताको भिख माग्न नहुने सांसद गिरीको भनाई छ । पर्वतको कुश्मामा आयोजीत दोस्रो राष्ट्रिय मगर महोत्सवको उद्घाटन गर्दै सांसद गिरीले भारतलाई सजिलो हुने गरी नेपालमा सरकार निर्माण गर्ने अभिब्यक्तिले सवै नेपालीलाई दुःखीत तूल्याएको बताए ।

हिजो मात्रै पुष्पकमल दाहालले एक अन्तरवार्ता कार्यक्रममा चीन र भारतलाई सहज हुने गरी नेपालमा सरकार निर्माण गर्नुपर्ने धारणा राखेका थिए । सांसद गिरीले प्र्रचण्डको भनाईलाई लक्षित गर्दै भने–‘तपाईसंग कम्फटेवल हुने सरकार बनाउँछौं, तपाईहरुले यसमा चिन्ता मान्न पर्दैन भनेर हामीले यति बेला सत्ताको भिख मागेका छौं ।’ उनले भने–‘स्वाभिमानी नेपालीले एक मुठि सास र एक थोपा रगत रहुँञ्जेल सत्ताको भिख मागिनेछैन्, हामी सवैले यहि संकल्प गरौं ।’

गुमेको भूमि सहितको नक्शा जारि नगरेर, उत्तर तर्फका नाका नखुलेको भए वर्तमान सरकार समस्यामा नपर्ने गिरीको भनाई छ । उनले सरकार परिर्वतनको कुरा वर्तमान सरकारले राष्ट्रबादी काम गरेका कारण आएको तर्फ इंकित गरे । गिरीले भारतले भनेको मान्दै गएको भए आजको राजनैतिक अवस्था अर्कै हुने समेत आकलन गरे । सवैजनाले राष्ट्रियतालाई केन्द्रमा राख्न समेत उनले आग्रह गरे । राष्ट्रियताको भावनामा सवै जना ओतप्रोत भएर राष्ट्र निर्माण गर्ने संकल्पमा सवै जना लाग्नुपर्ने गिरीको भनाइ छ ।

पर्वतको कुश्मामा आयोजीत दोस्रो मगर महोत्सव फागुन २५ गतेसम्म सञ्चालन हुनेछ ।