बालमैत्री वडा स्थापनाका लागि युवाको भूमिका विषयक अभिमूखीकरण सम्पन्न

१० फागुन , पर्वत । मोदी गाउँपालिकाका युवाहरुका लागि बालमैत्री वडा स्थापनाका लागि उनीहरुले खेल्न सक्ने भूमिकाका विषयमा एक दिवसीय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, पर्वतले मोदी गाउँपालिकासँगको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

मोदी गाउँपालिका वडा नं. २ देउपुर र वडा नं. ३ देउरालीका युवाहरुले सहभागिता जनाएको सो कार्यक्रममा सहभागीहरुलाई बालअधिकार, बालमैत्री स्थानीय शासन, बालमैत्री वडाको अवधारणा, बालमैत्री वडा घोषणाको तयारीका लागि पूरा गर्नुपर्ने ३९ सूचकहरु, सूचक पूरा गर्न कुन कुन निकायको के के भूमिका हुने, बालमैत्री वडा स्थापनाका लागि आ–आफ्नो समुदायमा युवा वर्गले निर्वाह गर्न सक्ने भूमिका आदि विषयका बारेमा अन्तरक्रिया गरिएको थियो ।

सहभागीहरुको ज्ञान तथा सीप अभिबृद्धि गर्नका लागि व्यवहारिक अभ्यास, खेल, प्रदर्शन, कथा तथा ब्याख्यान विधिबाट सहजीकरण गरिएको थियो । कार्यक्रममा मोदी गाउँपालिकाका बालबालिका तथा युवा संयोजक यामबहादुर मेधासीले समाजलाई अग्रगमनको दिशामा लैजान र संस्कारयुक्त बनाउनका लागि बालमैत्री वडा घोषणा गरी बालबालिकाको सबै प्रकारको अधिकार सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

स्थानीय जननेत्र माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक शर्माले सहभागी युवाहरुले अभिमूखीकरणका माध्यमबाट आफूले आर्जन गरेको ज्ञानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने खाँचो रहेको बताउनुभयो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पहाडी र शिक्षाकर्मी भुमीराज शर्माले सहजीकरण गरेको उक्त कार्यक्रममा देउपुरका १६ र देउरालीका १६ गरी जम्मा ३२ जना युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बालमैत्री वडा निर्माणको अभियानमा गाउँपालिको तर्फबाट जिम्मेवारी पाएका ३ जना स्वयंसेवकले पनि सहभागिता जनाएका थिए । कार्यक्रममा जम्माजम्मी ३७ जनाको सहभागिता रहेको थियो । अभिमूखीकरणमा सहभागी भएका सबैजसो युवाहरुले आ–आफ्नो ठाउँबाट बालमैत्री घोषणाको अभियानमा सक्रियतापूर्वक योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अवसरमा एनसिई नेपाल र मोदी गाउँपालिकाको समन्वयमा तयार गरिएका विभिन्न सन्देशमूलक फ्लेक्स व्यानरहरु स्थानीय विद्यालय, स्वास्थ्यचौकी र वडा कार्यालयका लागि उपलब्ध गराइएको थियो ।