कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गुरुङ

१० फागुन, पर्वत । जिल्लाको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कुमानसिंह गुरुङले कार्य भार सम्हालेका छन् । यस अघि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हरी पंगेनीको सरुवा भएको थियो । नयाँ कार्यालय प्रमुखको रुपमा गुरुङले सोमबार देखि कार्यभार सम्हालेका हुन् । गुरुङ यस अघि कास्कीको माच्छापुछ्रे गाउँपालिकामा कार्यरत थिए ।

यस अघि पनि कार्यकारी अधिकृतको रुपमा कुश्मा नगरपालिका नै कार्यरत गुरुङ जिल्लाकै मोदी गाउँपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरेका थिए । गुरुङलाई सोमबार एक कार्यक्रमका वीच कुश्मा नगरपालिकामा स्वागत गरिएको छ । कर्मचारीहरुको स्वागत पछि गुरुङले सेवा प्रवाहमा कुशलता प्रदर्शन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

जनमुखी सेवा प्रणाली नै वर्तमान ब्यवस्थाको आवश्यकता रहेको भन्दै उनले जिम्मेवारी र जवाफदेहि भएर जनताको काम गर्न कर्मचारीलाई निर्देशन दिए । जिल्लामा २ कार्यकाल कार्यालय प्रमुखको भूमिकामा रहँदा र्निविवादित तथा स्वच्छ छवि बनाएका गुरुङ पर्वत जिल्लामै विगत लामो समय देखि ब्यवसाय सञ्चालन गरी बस्दै आएका छन् ।

उनले योजनाहरुको काममा गुणस्तरीयता कायम गरी पारदर्शीता प्रदर्शन गरेर नगरपालिकालाई उदाहरणीय बनाउन सवैको साथ र सहयोग मिल्नुपर्ने समेत बताए । उनले जनप्रतिनिधिहरुको साथ, सहयोग र मार्गनिर्देशन बमोजीम आफूले काम गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन् ।