पर्वतमा एकै दिन दुई वटा मोटरेवल पुलको उद्घाटन

२६ माघ, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा निर्माण भएका दुई वटा मोटरेवल पुलको आज एक कार्यक्रमका वीच उद्घाटन भएको छ । मोदी गाउँपालिकाको वडा न ६ तिलाहारमा निर्मित रतिखोला मोटरेवल पुलका राष्ट्रिय सभाका अध्यक्ष अध्यक्ष गणेश प्रसाद तिमिल्सीना र मोदी ५ र कुश्मा ३ लाई जोड्ने आम्बोटे खोला मोटरेवल पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले एकै दिन उद्घाटन गरेका हुन् ।

मोदी ६ तिलाहारमा निर्मित मोटरेवल पुलको कुल लम्बाई ७० मिटर रहेको छ । पुलमा ३५/३५ मिटरका दुईवटा स्पान रहेका छन् । उक्त पुल डिमुवा तिलाहार राम्जा चित्रे सडक सडकमा पर्दछ । पुल निर्माण शुरु भएको ५ बर्षमा निर्माण कार्य सम्पन्न भएको हो । पुलको कुल लागत १० करोड ४५ लाखको लागतमा उक्त पुल निर्माण भएको हो । पुलमा ७ दशमलब ५ मिटर चौडाई रहेको छ । पुलमा मानिस हिड्ने फुट्पाथ समेत निर्माण भएको छ ।

यसैगरी २०७५ साल पुस महिनामा सम्झौता गरी निर्माण शुरु भएको आम्बोटे खोला पुलको कुल लागत ४ करोड १७ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । २५ मिटर लामो पुलमा दोहोरो सवारी साधन चल्न मिल्ने गरी ७ दशमलब चौडाईको रहेको छ । सडक विभागले निर्माण गरेको उक्त पुलहरुको एकै दिन उद्घाटन भएको छ । विगतेको ३४ महिनामा विभागले कुल ५ सय ५३ वटा भन्दा बढि मोटरेवल पुलहरु निर्माण भएको मन्त्रालयले जनाएको छ ।

पुलकोे उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्षले विकास निर्माणमा देश भरी नै उल्लेखनीय प्रगति सरकारले गरीरहेको बताए । उनले सडक सञ्जाल सुधार्नका लागि सरकारको पहल सार्थक बन्दै गएको टिप्पणी गरे । यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्बाङले सरकारले गरेका भौतिक प्रगतिका कामहरु देखेर नै प्रधानमन्त्रीलाई आफ्नै पार्टी भित्र असहयोग भएको ठोकुवा गरे । छोटो अवधिमा उल्लेखनीय भौतिक सुधारका कामहरु गरेर सरकारले इतिहासकै सफल सरकार बनेर प्रमाणित गरेको नेम्बाङको भनाई थियो ।

कार्यक्रममा निर्वतमान सांसद पदम गिरीले आयोजनाहरु समयमै सक्ने काममा वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको उल्लेख गरे । योजना शुरु हुनु मात्र ठूलो उपलब्धि नभई त्यसलाई समयमा सक्नु पनि उपलब्धिपूर्ण रहेको गिरीको भनाई थियो ।