पुस २५ गते कुश्मामा नेकपा केपी पक्षको जिल्ला भेला हुने

२४ पुस, पर्वत । फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली पक्षको जिल्ला भेला भोली कुश्मामा आयोजना गरिएको छ । यस अघि प्रचण्ड समूहले कुश्मामा नै जिल्ला भेला आयोजना गरीसकेको छ । १ सय ५० को हाराहारीमा जिल्लाका अगुवा कार्यकर्ताको भेला गरेको प्रचण्ड पक्षधरलाई काउन्टर दिने गरी केपी पक्षले पनि भेलाको आयोजना गर्न लागेको हो ।

प्रचण्ड समूहमा कार्यकर्ताको उत्साह नभईरहेको बेलामा आफ्नो समूहलाई बलियो बनाउने गरी ओली पक्षले अगुवा कार्यकर्ताको भेलाको आयोजना गरेको छ । भेलामा जिल्ला भरका झण्डै ५ सय बढि कार्यकर्ताको उपस्थिती रहने पार्टी जिल्ला सचिवालय सदस्य बिमल लामिछानेले जानकारी दिए । प्रचण्ड पक्षको भेलामा ८० प्रतिशत भन्दा बढि पूर्व माओवादीका कार्यकर्ताको उपस्थिती रहँदै आएको छ । पूर्व एमालेको ठूलो संख्या भने ओली पक्षमा छ । पूर्व एमाले तर्फका केहि नेताहरु प्रचण्ड समुहमा लागे पनि कार्यकर्ताको पंक्ति भने ओली पक्षमा देखिएका छन् । पुस २२ गते ओली पक्षले युवा भेला गरेर त्यो संकेत दिईसकेको छ ।

भेलामा ५ सय भन्दा बढि जिल्ला भरका अगुवा युवा कार्यकर्ताहरुको उपस्थिती थियो । टुट र फुटको चरणमा पुगेको कम्युनिष्ट पार्टी अहिले दुई धारमा अलग्गिएको छ । ओली समूह र प्रचण्ड समुहमा बाँडिएको दुई समूह मध्ये कस्ले आधिकारिता पाउँन्छ भन्ने विषय अझै टुंगीएको छैन् । यो बेलामा दुवै समुहले आफूलाई आधिकारिक भन्दी दावी गरीरहेका छन् ।