एक दशकपछि कृषि कार्यालयका प्रमुख रेग्मीको सरुवा

२० पुस, पर्वत । एउटा समय थियो, पर्वतमा कार्यालय प्रमुख धेरै समय टिक्दैनन भन्ने । दोस्रो जनआन्दोलन पछि देशमा संविधान सभाको निर्वाचन त भयो तर संविधान जारी भएको थिएन् । स्थानीय स्तरमा जनप्रतिनिधिहरु थिएनन् । तत्कालीन जिल्ला विकास समिति कर्मचारी र राजनैतिक दलको संयन्त्र मार्फत परिचालित थियो ।

दलिय संयन्त्रको असजिलोका कारण जिल्लामा कर्मचारीहरु टिक्ने अवस्था थिएन् । तत्कालीन जिल्ला विकास समितिमा हुने गरेका किचलोका कारण स्थानीय विकास अधिकारी कतिपय अवस्थामा खालि हुन्थ्यो । पुरानो कार्यालय प्रमुख गएपछि नयाँ प्रमुख आउन आनाकानी गद्र्थे । यो दृटान्तका वीच पर्वतका अन्य विकासे कार्यालयका प्रमुखहरु पनि लामो समय जिल्लामा टिक्दैन्थे ।

जिल्लामा कृषि क्षेत्रमा काम गर्ने तत्कालीन जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बासु रेग्मी भने पर्वत जिल्लाको १ दशक लामो बसाई पछि बल्ल सरुवा भएका छन् । उनी जिल्लाबाट प्रदेश निर्देशनालय गण्डकी प्रदेशमा सरुवा भएका हुन् । जिल्लामा लामो समय कृषि क्षेत्रमा काम गरेका रेग्मीको अनुभव भने बेग्लै छ–‘प्रभाव र दबाबमा परेर काम नगर्ने हो भने कर्मचारीलाई कहिल्यै पनि काम गर्न गाहे हुदैन ।’

जिल्लामा ब्यवसायीक कृषकहरु तयार गर्न रेग्मीले महत्वपूर्ण भूमिका खेलेका छन् । कृषकलाई सधै साथी सम्झने रेग्मी जिल्लाका सवै कृषकको साथी जस्तै बनेका छन् । कार्यालय प्रमुखको हैसियत भन्दा धेरै अनौपचारिक सम्बन्धबाट कृषकहरुलाई उत्प्रेरणा दिने रेग्मीलाई औपचारिक रुपमा विदाई गरिएको छ । जिल्लामा तरकारी उत्पादनलाई आत्मनिर्भर बनाउन लागि परेका रेग्मीले पछिल्लो समय कृषि ज्ञान केन्द्र नामको कार्यालय स्थापना भएपछि भने पर्वत र बागलुङ दुवै जिल्लाको प्रमुखको रुपमा काम गरेका थिए ।

पर्वत कार्यालय रहेको ज्ञान केन्द्रको प्रमुख हुँदा पनि उनले कृषकलाई ब्यवसायीकरण गर्ने, खाद्य उत्पादनमा बृद्धि गर्ने कार्यमा सरिक थिए । कृषि क्षेत्रमा जिल्लामा सवैभन्दा धेरै बजेट समेत भित्राउन सफल रेग्मीले प्रदेश कृषि विकास निर्देशनालयको निर्देशकको रुपमा अहिले कार्यभार सम्हालेका छन् । प्रदेशबाट ११ जिल्लाकै नेतृत्व गर्ने अवसर पाएका रेग्मीले पर्वत बसाई सुखद र सम्झनलायक भएको बताउँछन् । अर्थ वीट साप्ताहिकमा खबर छ