‘ताजा जनादेश लिन जनता माझ जान कोहि डराउनु हुँदैन’– नेकपा केन्द्रिय सदस्य गिरी

१९ पुस, पर्वत । नेपाल कम्युनिष्ट पार्टी केपी ओली समूहका केन्द्रिय सदस्य पदम गिरीले ताजा जनादेश लिन जनता माझ जान कोहि पनि डराउन नहुने बताएका छन् । सो समूहको मोदी गाउँपालिका स्तरीय विस्तारी वैठकमा बोल्दै केन्द्रिय सदस्य गिरीले जनताका वीचमा अनुमोदीत हुन जाने कुराबाट कोहि पनि डराउन नहुने बताएका हुन् ।

राम्रो काम गर्ने दल र जनप्रतिनिधिलाई जनताले मत दिने विश्वास दिलाउँदै सरकारले घोषणा गरेको निर्वाचनमा समयमा हुने दावी गरे । ‘निर्वाचन देखि भाग्नु भनेको लोकतन्त्र प्रति विश्वास छैन भन्नु हो’ पूर्व सांसद समेत रहेका गिरीले भने–‘आवधिक निर्वाचन नै लोकतन्त्रको गहना हो ।’ संसदलाई घेराबन्दीमा पारेर आफ्नै दलका नेता विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रयास भएपछि संसद भंग गर्नुपरेको स्पष्ट पार्दै उनले संसदलाई अनिर्णयको बन्दी बनाउनु भन्दा ताजा जनादेश मार्फत नयाँ सरकार निर्माण गर्नु अवको विकल्प रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा नेकपा केन्द्रिय सदस्य मनोहर वि. पौडेलले निर्वाचनबाट अनुमोदीत हुने विषयमा दलहरुले आनाकानी गर्नु भनेको जनता प्रति विश्वास नभएको संकेत रहेको बताए । उनले जनताले स्थिर सरकार चाहेको स्मरण गर्दै पार्टी भित्रबाट २ बर्ष मै सरकार परिर्वतन गर्ने खेल खेल्नु दुःखत रहेको बताए ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य मेघनाथ सुवेदी, प्रेम लामिछाने, प्रदेश कमिटि सदस्य हिरादेवी शर्मा, नेकपा सचिवालय सदस्य शिव पौडेल, युवा संघका केन्द्रिय सदस्य बिमल लामिछाने, मोदी गाउँपालिका उपाध्यक्ष सेती महत लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।