केपी ओलीको सम्बृद्धिको सपना अझै अधुरो रह्यो : पूर्व सांसद गिरी

१७ पुस, पर्वत । सत्तारुद दलको केपी ओली पक्षधरका नेता तथा नेकपाका केन्द्रिय सदस्य पदम गिरीले केपी ओलीको सम्बृद्धिको सपना अझै पनि अधुरो रहेको बताएका छन् । पर्वतको कुश्मा बजारमा आयोजीत युवा संघका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै सांसद गिरीले सम्बृद्ध नेपाल निर्माण गर्ने प्रधानमन्त्री केपी ओलीको सपना अझै पनि अधुरो रहेको बताएका हु्न् ।

जनताले स्थिर सरकार चाहे पनि पार्टी भित्रको आन्तरीक समस्याका कारण प्रधानमन्त्रीले वर्तमान संसद विघटन गर्ने निर्णय लिएको बताउँदे उनले सम्बृद्ध नेपालको सपना पुरा हुन नसकेको बताए । आफ्नै पार्टी भित्रबाट आफ्नै अध्यक्ष र प्रधानमन्त्रीलाई असहयोग गर्ने र सरकार ढलाउने चलखेल भएका कारण आजको अवस्था सृजना भएको पूर्व सांसद समेत रहेका गिरीले बताए ।

पछिल्लो प्रतितिनिधि सभाको निर्वाचनमा पर्वतबाट निर्वाचित गिरीले प्रधानमन्त्रीले अस्थिर सरकारको सामना गर्नुभन्दा ताजा जनादेशमा जाने विकल्प अगाडि सारेर प्रधानमन्त्री ओलीले राष्ट्रको लागि निकासको बाटो खुल्ला गरेको टिप्पणी गरे ।

केपी ओली निकट युवाहरुको भेलालाई सम्बोधन गर्दै नेता गिरीले पर्वतमा उत्तर देखि दक्षिणसम्मको सडक कालोपत्रेको आफ्नो महत्वकाक्षा केहि बर्षमा पुरा हुने बताए । उनले आफूले निर्वाचनको बेलामा प्रतिबद्धता गरेको सडक कालोपत्रे, एक घर एकधारा र अन्य पूर्वाधार निर्माणको कामले पर्वतमा गति लिइरहेको भन्दै युवाहरुले यस्तो कामको प्रचार गाउँसम्म गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेकपाका नेता गोविन्द पहाडी, युवा संघका केन्द्रिय सदस्य तथा मोदी गाउँपालिकाका प्रवक्ता बिमल लामिछाने लगाएतले मन्तब्य राखेका थिए ।

युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन साविक युवा संघका सचिव नवराज गिरीले गरेका थिए ।

युवा संघले आगामी २२ गते बृहत जिल्ला भेला आयोजना गर्ने निर्णय गरेको सचिव गिरीले जानकारी दिए । साथै युवा संघले आगामी २५ गते हुने नेकपाको जिल्ला भेलालाई बृहत र ब्यवस्थित बनाउने समेत निर्णय गरेको गिरीले जानकारी दिए ।