मोदी गाउँपालिकामा चौमासिक प्रगति समिक्षा

५ मंसीर, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा चौमासिक प्रगति समिक्षा सम्पन्न भएको छ । मोदी गाउँपालिकाको सभा हलमा गाउँपालिकाले आर्थिक बर्षको पहिलो चौमासिकमा सम्पन्न गरेका कार्य प्रगतिको समिक्षा कार्य सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार गाउँपालिकाले चालु आर्थिक बर्षमा विनियोजन गरेका तथा संघ र प्रदेशबाट प्राप्त विषयगत क्षेत्रको कार्य प्रगतिको समिक्षा गरिएको हो ।

गाउँपालिकाले चालु आर्थिक बर्षका लागि गाउँ सभाबाट विनियोजन गरेका कार्यक्रमहरुको कार्यान्वयन तथा प्रभावकारीताका विषयमा गाउँपालिकाले कर्मचारी स्तरीय समिक्षा सम्पन्न गरेको छ । गाउँपालिकाका विषयगत शाखाहरु कृषि शाखा, पशु शाखा, पूर्वाधार तथा सामाजिक विकास शाखा, आर्थिक विकास शाखा, स्वरोजगार शाखा लगाएतका शाखा कार्यालयहरु मार्फत सम्पन्न भएका गतिविधिहरु आइपरेका समस्या र चुनौतिका विषयमा विषयगत क्षेत्रका प्रमुखहरुले प्रस्तुती राखेका थिए ।

चालु बर्षमा विनियोजीत बजेट तथा कार्यक्रमहरु समयमा सक्ने गरी विशेष कार्य योजना बनाई कार्यक्रमहरु अगाडि बढाउने गरी समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम पौडेलले निर्देशन दिए ।

गाउँपालिका भित्र सञ्चालन हुने कार्यक्रमहरुमा जनताका अधिकतम सहभागीता गराई, पारदर्शी तरिकाले कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने अध्यक्ष पौडेलको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले कार्यक्रम सञ्चालन गर्दा आइपर्ने समस्या र चुनौतिलाई समाधान गर्न स्थानीय समुदाय र जनप्रतिनिधि वीच निरन्तर समन्वय गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

विषयगत कार्यक्रमहरु कार्य योजनामा समावेश गरीएकै समयमा सक्नुपर्ने भन्दै क्षेत्रीले सवै कर्मचारी आफ्नो कार्य क्षेत्र प्रति जवाफदेहि हुन निर्देशन दिए । समिक्षा कार्यक्रममा गाउँ कार्यपालिका सदस्यहरुको समेत सहभागीता रहेको थियो ।