गाउँपालिकाले आम भेला गरेकै भोलीपल्ट पैयू गाउँपालिकामा थपिए १० जना संक्रमीत

२५ कार्तिक, पर्वत । पैयूँ गाउँपालिकामा एकैदिन १० जना कोरोना संक्रमित थपिएका छन् । गाउँपालिकाले स्थानीय जनताहरुलाई प्रतिबन्ध लगाएर आफूले भने आम भेला गरेको भोलिपल्ट पैयू गाउँपािलकामा १० जना नयाँ संक्रमीत थपिएका हुन् । स्थानीय जनताको स्वास्थ्यप्रति गाउँपालिका अनुदार रहेर आम भेला गर्दै हिडेको भोली पल्ट १० जना कोरोना भाइरसका नयाँ संक्रमति थपिए पछि भने गाउँपालिकाले स्थानीय जनता प्रति फेरी कडा प्रकारका प्रतिबन्धहरु लगाउन थालेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा चार महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ३२, २१, २९ र ५३ वर्षिया महिला तथा ४१, ६०, २६, २२, ४७ र ५२ वर्षिय पुरुषमा संक्रमण भेटिएको हो । संक्रमित सवै कन्ट्राक्ट ट्रेसिङमा परेका हुन् । सवै संक्रमितलाई स्थानीय कोभिड अस्पताल र आईशोलेशनमा व्यवस्थापन गरिने भएको छ ।

एकैदिन १० जना संक्रमित भेटिएपछि पैयू गाउँपालिकाले बजारहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । सार्वजनिक यातायातबाहेक गाउँपालिकाले सबै बजार बन्द गर्ने निर्णय गरेको पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिएको स्थानीय अनलाईनहरुले समाचार प्रकाशित गरेका छन् ।

उनै प्रमुख प्रशासकीय अधिकृतले भने कार्तिक २४ गतेका दिन गाउँपालिका भरीका मानिस जम्मा गरी आम भेला सरहको कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा गाउँपािलका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले अध्यक्षता गरेका थिए । स्थानीय जनतलााई प्रतिबन्धहरु लगाउने गाउँपालिका आफैले भने सार्वजनिक रुपमा औपचारिक कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले दैनिक उपभोग्य बस्तु खरिद तथा बिक्रीका लागि बिहान ८ बजेदेखि ९

बजेसम्म र अपरान्ह ४ बजेदेखि ५ बजेसम्मका लागि तोकिएको जनाएका छन् ।

उक्त समयमा सामान खरिद तथा बिक्री गर्नका लागि पनि सामाजिक दुरी कायम र पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नका लागि सम्पूर्ण गाउँपालिकाकाका बासिन्दालाई आब्हान गरिएको पनि पौडेलले जानकारी दिए । गाउँपालिकाले मंगलबार राती १२ बजेदेखि मंसिर २ गते राती १२ बजेसम्मका लागि बजार बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिका आफैले प्रतिबन्ध लगाउने तर आफैले उल्लघन गर्ने प्रबृत्तिको भने स्थानीय स्तरमा विरोध भइरहेको छ ।