पर्वतमा अव उन्नत जातका पाडी र बाच्छि घरमै हुर्काए १० हजार अनुदान

२५ असोज, पर्वत । पाडापाडि र बाच्छि संरक्षण अभियान अन्तर्गत उन्नत जातका पाडापाडि र बाच्छि घरमै हुर्काए प्रदेश सरकारले १० हजार अनुदान उपलब्ध गराउने भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत घरमै जन्मिएका पाडापाडि र बाच्छिलाई १ बर्षसम्म घरमै पाले १० हजार रुपैया प्रोत्साहन स्वरुप सहयोग रकम प्रदान गरिने भएको हो ।

विज्ञ केन्द्र बागलुङका कार्यालय प्रमुख शम्भु राज पाण्डेले पाडापाडि घरमै हुर्काउने कृषकलाई १० हजार नगद सहयोग गरिने जानकारी दिए । पर्वत र बागलुङ जिल्लामा यो कार्यक्रम चालु बर्ष देखि नै लागू भएको पाण्डको भनाई छ । बार्षिक कार्यक्रम अनुसार ३८ लाख रुपैया यस कार्यक्रमका लागि राखिएको पाण्डेले जानकारी दिए ।
उन्नत जातका पाडापाडि र बाच्छि संरक्षण कार्यक्रम अन्तर्गत यस कार्यक्रमको शुरुवात गरिएको हो । यस अघि सामूहिक रुपमा पाल्ने कृषकलाई अनुदान र सहयोग उपलब्ध हुने गरेको थियो । घरमा ब्यायका पशुलाई अर्काको घरमा लगेर पाल्दा त्यो कार्य सफल नभएको भन्दै सम्बन्धित कृषकले नै पाडापाडिको संरक्षण गरेमा १० हजार रकम सहयोग हुने कार्यालयको भनाई छ ।

चालु बर्षमा ३ सय ८० वटा पाडापाडि संरक्षण वापतको सहयोग अनुदान रकम राखिएको कार्यालयको भनाई छ । यो कार्यका लागि कृत्रिम गर्भादान गरेका पशुका मालिकले मात्र यो रकम पाउनेछन् । ‘उन्नत जातका पाडापाडि र बाच्छि भनेकाले कृत्रिम गर्भादानलाई मात्र अनुदान रकम हो’ कार्यालय प्रमुख पाण्डेले भने–‘कृत्रिम गर्भादानको विवरण कार्यालयसंग हुन्छ त्यसैको आधारमा १ बर्षसम्म पाडापाडि र बाच्छि हुर्काए रकम प्रदान हुन्छ ।’

प्रदेश सरकार अन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पर्वत र बागलुङका लागि चालु बर्ष देखि यो नयाँ कार्यक्रमको शुरुवात गरेको हो । कार्यक्रम लागु भइसकेको कार्यालय प्रमुख पाण्डेको भनाई छ ।

कार्यालयले चालु बर्षमा भैसी विकास कार्यक्रमका लागि ३० लाख रकम समेत विनियोजन गरेको छ । सो कार्यक्रम पनि चालु बर्षमा लागु हुने कार्यालयले जनाएको छ । उक्त रकम पर्वत र बागलुङ जिल्लामा खर्च हुनेछ । पर्वतमा केहि महिनामा नै बेग्लै कार्यालयको स्थापन भएपछि भने उक्त सिलिङको बाँडफाँड हुनेछ । अर्थ वीट साप्ताहिकबाट