विकासको क्षेत्रमा फड्को मार्दैछ पर्वतको बर्राचौरले

३१ भदौ, पर्वत । बिहादी गाउपालिका २ न वडा बर्राचौरमा बिकास निर्माणमा फड्को मार्न शुरु गरेको छ । संघीयसंगै बनेका ३ तहका सरकारहरुले जिल्लाको दक्षिणी क्षेत्र बर्राचौरमा विकास आयोजनाहरुको क्रमबद्ध शुरुवात भएका छन् ।

स्थनीय तहको निर्वाचन सम्पन्न भएको बिगत ३ बर्ष भित्र यहाँका मूल बाटाहरुको स्तरोउन्नती भएको वडाअध्यक्ष ओमप्रसाद कुँवर बताउँछन् । वडा भित्रका हिलाम्य र जिर्ण अवस्थामा रहेका सडकहरु अहिले स्तरोउन्नती भइ कालोपत्रेको चरणमा पुगको छन । कालिगण्डकी लोकमार्ग, वालिंग–हुवास –खहरेखोला सडकमा नालीहरु व्यवस्थित गरि ग्रावलिंग गर्ने कार्य सम्पन्न भइ कालोपत्रे गर्ने कार्य सुचारु भएको छ । बर्षातको बेलामा जिर्ण हुने उक्त सडकमा अहिले आवात जावत गर्न हाल सहज भएको वडाअध्यक्ष कुँवरको भनाई छ ।

२०७२ सालको भुकम्पले बढि प्रभावित बनाएको वडा पनि बरौचौर नै हो । भुकम्पकका कारण यहाँका विद्यालयहरुको भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । भुकम्पले भवन भत्काएको वडा भित्रको आम्वारी मा.बि.मा ८ कोठाको ढलान बिल्डिंग सम्पन्न भएको छ भने पुन ४ कोठाको ढलान बिल्डिंग सहित बालमैत्री शौचालय निर्माणको चरणमा रहेको छ ।

यसै विद्यालयमा खेल मैदानको अभाव रहँदै आएकोमा प्रदेश सरकारको लगानीमा खेल मैदान निर्माणको काम पनि भइरहेको छ । शैक्षिक पूर्वाधार तर्फ आम्वारी आधारभूत विद्यालय र जनसेवा आधारभूत विद्यालय पातलमा पनि ४/४ कोठाका भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्पन्न भैसकेको छ वडा कार्यालयले जनाएको छ ।

वडा भित्रकै भालुवाकुण्ड देखि गुल्मीको खडककोटसम्म आकाशे झोलुंगे पुलको निर्माण कार्य पनि तिव्र गतिमा भइरहेको छ । पुल निर्माण पश्चात गुल्मी बर्राचौर आवत जावतलाई तथा व्यापारिक मार्गलाई सहज हुने स्थानीयबासीको विश्वास छ ।

बिहादी गाउँपालिकाको एक उद्योगग्राम पनि बर्राचौर तिलारेचौरमा निर्माण कार्य भइरहेको छ । उद्योगग्रामको निर्माण पश्चात यहाँका विभिन्न निर्माणका कच्चा पदार्थहरु यहि खपत हुने र रोजगारीको पनि सृजना हुने गाउँपालिका अध्यक्ष कमल भुषाल बताउँछन् ।

वडामा मनोरञ्जन पार्कको पनि निर्माण भइरहेो छ । बालबालिकाहरुलाई लक्षित गरी बर्राचौरको पातल बस्तीमा बाल उद्यान पार्क (पिस पार्क) निर्माणकार्य भइरहेको छ । वडा कार्यालयको आफ्नो भवन निर्माणका प्रक्रिया पनि शुरु भएको छ ।

यसै गरी धार्मिक र पर्यटकीय आस्था बोकेको बिहादी गा.पा. २ न. वडा बर्राचौरको शित्तलगुफा पनि प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भइ आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्य बन्दै गएको छ ।

वडा भित्र एक घर एक धाराको कार्यक्रम शुचारु भइरहेको अवस्था छ । हाल बाच्छावोट टोल, भास्तुंग टोल, नौनादि टोलहरुमा एक घर एक धारा निर्माण कार्य सम्पन्न भएको छ ।

गाउँपालिका भित्र स्वास्थ्य तर्फ हेर्दा बिहादी गाउँपालिकाको पापिलका स्तरीय अस्पताल पनि यसै वडा बर्राचौरमा निर्माण हुने भएको छ । अस्पताल निर्माणको लागि प्रक्रिया शुरु भइसकेको संघीय सांसद पदम गिरीले जानकारी दिए । १९ करोडको लगानीमा उक्त वडामा १५ शैयाको सुविधासम्पन्न अस्पतालको निर्माण हुँदैछ ।

अस्पताल निर्माण पश्चात एक्सरे, युसजी, रगत जाँच तथा सामान्य अपरेशनहरुका लागि अन्य शहरहरुमा जान नपर्ने देखिन्छ । वडामा स्वास्थ्य तर्फ पूर्ण संस्थागत सुत्केरी वडा, पोषण मैत्री वडा, पूर्ण खोप वडा घोषणा भइ बालमैत्री वडा घोषणाको चरणमा रहेको बर्राचौर स्वास्थ्य चौकीले जनाएको छ ।

वडा भित्र सिंचाई तथा कृषि तर्फ हाल प्रदेश सरकारवाट खहरेखोला, ढाकाचौर, भलुवाकुंड, तल्लो बर्राचौर हुदै भास्तुंगसम्मका लागि सिंचाई कुलोको बजेट बिनियोजन भएको छ । कृषकहरुलाई एक घर एक टनेल, अनुदानमा मेसिनरी हलो, तथा कूटन पिसानका लागि मेसिन, भकारो सुधार, खोर सुधार , माछापोखरीका लागि अनुदान, गाईपालनका लागि २० प्रतिशत अनुदान, घरमा खरको छानो भएकालाई राहतमा टिन वितरण आदि कार्य बिहादी गाउपालिकावाट भइरहेको गाउँपालिका अध्यक्ष भुषालले जानकारी दिए ।

गाउँपालिका भित्रका सवै वडामा फलामे पोलयुक्त बनाउने अभियान पनि बरौचौरमा अघि बढिरहेको छ । यस बडालाई चालु आर्थिक बर्षमा सवै काठमा पोल विस्थापीत गरी फलामे पोलको ब्यवस्थापन गरी फलामे पोल युक्त वडा बनाईने गाउँपालिकाले जनाएको छ ।