बाढि र पहिरोको चपेटामा कुश्मा बजार पनि

३० भदौ, पर्वत । चालु बर्षमा भइरहेको बर्षातको मात्रा निकै उच्च छ । गत बर्षको हिउँद देखि नै शुरु भएको बर्षात निरन्तर रुपमा परीरहेको छ । भारी मात्रामा हुने गरेको बर्षातले यस बर्ष निकै ठूलो धन जनका क्षति पुराएको छ ।

पर्वत जिल्लामा मात्र बर्षातसंगै आएको पहिरोका कारण १० जना मानिसको ज्यान गईसकेको छ । दर्जन बढि घरमा ठूलो क्षति पुगेको छ । आधा दर्जन घरहरु बगेका छन् । कोरोना संक्रमणमको महामारी आइरहेको बेलामा बर्षातका कारण धेरै मानिसले सास्ती बेहोर्नु परेको छ । खण्ड वृष्टि, अति बृष्टि र घना बृष्टिका घटनाहरु दोहोरीरहेका छन् । जसका कारण मानव जीवन नै त्रसित बन्नुपरेको छ ।

बढिजसो ग्रामीण क्षेत्रहरुमा उच्च जोखिम देखिए पनि पर्वतको सदरमुकाम कुश्मा बजारका केहि वस्तीहरु पनि बाढि र पहिरोको उच्च जोखिममा परेका छन् । विगत बर्षहरु देखि नै जोखिममा रहेको कुश्मा नगरपालिका वडा न ४ को जिरोकिलोमिटर क्षेत्र यस बर्ष पनि जोखिममा देखिएको छ । मंगलबार विहान ठूलो मात्रामा बाढि आउँदा त्यस क्षेत्रका मानिसहरु रातको समयमा जागा बस्नु परेको वडाअध्यक्ष मिना कमाचार्यको भनाई छ ।

बजारको माथिल्लो क्षेत्र दुर्लुङबाट आएका बाढि र त्यसले बगाएर ल्याएका ग्रगेटाका कारण त्यस क्षेत्रलाई त्रसित बनाएको छ । जुनसुकै बेलामा पनि ठूलो मात्रामा बाढि सहितको पहिरो आउनसक्ने र त्यसले ठूलो क्षति पुराउनसक्ने वडाअध्यक्ष कर्माचार्यको भनाई छ । पहिरो नियन्त्रण र रोकथामका लागि दिर्घकालीन प्रयास नगर्दा सधैको बर्षातमा त्यो क्षेत्र जोखिममा परेको छ ।

उता, कुश्मा नगरपालिका वडा न ७ पुरीगाउँको जमिन भाँसिदा त्यहाँका आधा दर्जन घर पनि जोखिममा परेका छन् । वडा अध्यक्ष सुवासचन्द्र पौडेलका अनुसार जमिनको सतह भाँसिदा कुश्मा दुर्लङ सडक खण्डको छेउछाउका वस्तीहरु उच्च जोखिममा देखिएका छन् । बर्षातका कारण जमिन भाँसिएको छ । कतै खाल्डो परेको छ । वडाअध्यक्ष पौडेलले भने घनाबृष्टि फेरी भएमा त्यसले ठूलो क्षति निम्ताउनसक्ने देखिएको छ ।

बर्षातका कारण जिल्लाका कुनै पनि बस्ती सुरक्षित नदेखिएको जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलको भनाई छ । उनले मंगलबार जिल्लाका विभिन्न स्थानमा गएको पहिरो र बाढिको निरिक्षण गरेका थिए । स्थानीयबासी नै सचेत भएर बर्षातको बेलामा सुरक्षित स्थानमा बस्नु नै त्यसबाट मानवीय क्षति कम गर्ने उपाय रहेको पौडेलले बताएका छन् ।

उता, संघिय सांसद पदम गिरी पनि मंगलबार विभिन्न ठाउँमा गएको पहिरोको निरिक्षण गरेका छन् । स्थानीयबासीमा पहिरोका कारण ठूलो त्रासदी रहेको गिरीको भनाई छ । जिल्लाका विभिन्न ठाउँका वस्तीहरु पहिरोका कारण उच्च जोखिममा परेका छन् ।