पहिरोले दोविल्ला–फलेवास सडक अवरुद्ध

३० भदौ, पर्वत । जिल्लाको दक्षिणवर्ती क्षेत्र जोड्ने दोविल्ला–फलेवास सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ । ठाउँ ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । मंगलबार विहानपख गएको विषण बर्षातले निर्माणधिन उक्त सडक खण्डको आधा दर्जन ठाउँहरुमा पहिरो गएको छ ।

पहिरोका कारण मल्याङदी खोला पारी फलेवास नगरपालिका क्षेत्रका आधा दर्जन ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको फलेवास नगरपालिकाले जनाएको छ । उक्त सडक खण्ड अहिले निर्माणधिन अवस्थामा छ । सडकका खण्ड खण्डमा हिजो गएको पहिरोका कारण सडकमा सवारी साधन सञ्चालन हुने अवस्थामा छैनन् ।

फलेवास देखि कूश्मा र पोखरासम्मको यात्राको लागि वैकल्पिक सडकको प्रयोग गर्नू परेको छ । सडक खुलाउनका लागि पहल भइरहेको फलेवास नगरपालिकाको भौतिक पूर्वाधार शाखाले जनाएको छ । अविरल बर्षातका कारण फलेवास नगरपालिकाको मुडिकुवामा पहिरो जाँदा १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका छन् ।

उता, फलेवासकै कुर्घामा वस्ती नजिक पहिरो जाँदा १० वटा घर उच्च जोखिममा परी विस्थापीत हुने अवस्थामा पुगेका छन् । वस्तीलाई सुरक्षित बनाउन र सडक खुलाउने कार्य भइरहेको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिए ।