कुश्मा नगरपालिकाको सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग ३ दिन देखि अवरुद्ध

३० भदौ, पर्वत । लगातारको बर्षाका कारण पहिरो नरोकिँदा आईतवार रातीदेखि अबरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ सडक खुलाउन समस्या परेको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नं. १ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण अबरुद्ध सडक सुचारु हुन नसकेको हो । आइतवार रातीदेखि रोकिएको सडक अझैसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पहिरो खसिरहेका कारण डोजर चलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमवार दिनभर अबरुद्ध सडक सुचारु गराउनका लागि प्रयास गरेपनि निरन्तर पहिरो खसेको हुँदा जोडर परिचालन गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

आज बिहानै देखि सडक खुलाउन काम थाल्नेगरी सुरक्षाकर्मी र स्काभेटर तयारी अवस्थामा राखेको भएपनि ढुंगा खस्ने क्रम नरोकिएकाले पहिरो रहेको स्थलमा जानै नसकिएको प्रहरी निरिक्षक सुबेदीले बताउनुभयो । पहिरो खसिरहेका कारण यात्रुहरु हिडेर समेत वारपार गर्न पाएका छैनन् । जसले गर्दा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका बासिन्दा समस्यामा परेका छन् । अन्यत्रवाट साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् भने पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधनहरु सोमवार दिनभर अलपत्र बनेपछि आफ्नै जिल्लामा फर्किएका छन् ।

बर्षाका कारण पर्वत-बागलुङ्ग सडक खण्डको कुश्मा नगरपालिका ८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोलामा गएको पहिरो भने सोमवार हटाएको थियो । रिठ्ठे खोलामा आएको बाढीले मोटरसाइकलहरु वारपार गर्न समस्या भएको छ तर अन्य सवारीका साधन भने सञ्चालन भैरहेका छन ।

आइतबार पनि सहस्रधारामा पहिरोले अबरुद्ध सडक सोहि दिन साँझ मात्रै एकतर्फी रुपमा सञ्चालन भएको थियो ।

कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएका कारण सडकमा सवारीको चाप नभएपनि खाद्यन्न ढुवानी सँगै विरामी र एम्बुलेन्सहरुलाई समस्या भएको छ ।