फलेवासको शंकरपोखरीमा युवा संघको भेला

२१ भदौ, पर्वत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट राष्ट्रिय युवा संघ पर्वतको युवा भेला फलेवास नगरपालिकाको शंकरापोखरीमा सम्पन्न भएको छ । युवासंघले युवा जागरण अभियान अन्तर्गत उक्त भेलाको आयोजना गरेको हो । कोरोना संक्रमण र यसबाट बच्ने उपायहरुको बारेमा जनचेतना फैलाउँदै संगठन मजबुद बनाउने अभियान युवा संघले शुरुवात गरेको हो ।

दुई युवा संगठन वीच एकता भइ निर्माण भएको राष्ट्रिय युवा संघले संगठन विस्तार, कमिटिहरुको गठन र सरकारले गरेका राम्रा कामहरुको प्रचार गाउँसम्म गराउने उद्देश्यका साथ युवा भेटघाट तथा जागरण अभियानलाई निरन्तरता दिएको अध्यक्ष थमनारायण पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार शनिवार फलेवास नगरपालिका वडा न ३ शंकरपोखरीका युवाहरु वीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । समुदायमा कोरोना संक्रमण पुष्टि नभए पनि संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका विधिहरु अपनाएर भेलाको आयोजना गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार भेलाका सहभागीहरुले राष्ट्रिय राजनीति, युवा परिचालन तथा संगठन सबलीकरणका विषयमा छलफल भएको थियो । दुई संगठन वीच एकता भए पनि जिल्ला कमिटिको गठन प्रक्रिया पुरा भएको छैन ।

अध्यक्ष पौडेलले छिटै जिल्ला समितिको गठन गरी संगठनका थप गतिविधिहरुलाई अघि बढाउने गर्ने जानकारी समेत गराएका थिए । युवा संघले जिल्ला, नगर र वडा कमिटिहरुको गठन गरी संगठनका गतिविधिहरुलाई थप शसक्त पार्दै लैजाने गरी योजना निर्माण गर्न लागेको अध्यक्ष पौडेलको भनाई छ ।
भेलामा युवा सघ पर्वतका अगुवा नेताहरुले अर्जुन पौडेल,नवराज गिरि, लकाश सुवेदी लगायतका युवाहरुलाई संगठन विस्तार र अनु्शासन लगाएता विषयमा जानकारीमूलक मन्तब्य राखेका थिए ।