पर्वत जिल्लामा अव नेपालकै अग्लो पुल मात्र होइन, विश्वकै लामो झोलुंगे पुल पनि

१९ साउन, पर्वत । अग्ला झोलुंगे पुलहरुले चिनिएको पर्वत जिल्ला अव भने विश्वकै लामो झोलुंगे पुलले पनि प्रख्यात हुँदैछ । पर्वतको पाङलाई बाग्लुङ जिल्लाको सदरमुकामसँग जोड्दै त्यस क्षेत्रको पर्यटकीय, आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक र शैक्षिक गतिविधिलाई थप सुधार एवं सहज गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विभाग अन्तर्गत सस्पेन्सन बृज डिभिजनबाट बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूलको निर्माण गरिएको हो । उक्त झोलुङ्गे पूलकोे निर्माण सँगै झोलुङ्गे पूलको जननी जिल्लाको रुपमा परिचित बाग्लुङ जिल्ला र अग्ला झोलुङ्गे पूलको शहरको रुपमा परिचित पर्वत–बाग्लुङ जिल्लामा थप एक पहिचान बढ्ने भएको छ – पदयात्री हिँड्ने संसारकै लामो एकल स्पानको झोलुङ्गे पूल भएको जिल्ला । बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूलको लम्बाई ५६७ मिटर रहेको छ । बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पूल संसारकै सबैभन्दा लामो भनिएको पदयात्री हिँड्ने झोलुङ्गे पूल स्विट्जरल्याण्डको ४९४.०० मिटर लामो चारलेस कुइन पेड्रेस्टन व्रिज भन्दा ७३.०० मिटर लामो छ ।

सस्पेन्सन बृज डिभिजनले देशभरका लामा र विशिष्ट प्रकारको झोलुङ्गे पूलहरुको निर्माण गर्ने जिम्मेवारी अनुसार आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । यस सस्पेन्सन बृज डिभिजनले हालसम्म निर्माण गरेको झोलुङ्गे पूल भन्दा विशिष्ट प्रकृतिको बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे पूलको आफ्नै जनशक्ति मार्फत् सर्वेक्षण, डिजाइनको कार्य गरी ठेक्का व्यवस्थापन एवं निर्माण गरेको हो । उक्त झोलुङ्गे पूलको निर्माण हुनु अघिसम्म डिभिजनमा रहेको ज्ञान, सीप, अनुसन्धान, विद्यमान प्रविधि र निर्माण व्यवसायीको क्षमताको आधारमा ३५९ मिटर लम्बाईसम्मको एकल स्पानको झोलुङ्गे पूलकोे निर्माण हुँदै आएको थियो ।

यस झोलुङ्गे पूल निर्माण गर्दा डिभिजनलाई चुनौति र अवसर दुवै थियो । चुनौति यस मानेमा कि झोलुङ्गे पूल निर्माण गर्दा प्राबिधिक दृष्टिकोणबाट सम्भव नहुन पनि सक्छ भन्ने र लठ्ठा तान्ने प्रबिधि नयाँ भएकोले सो प्रबिधिबाट लठ्ठा तान्न सफल हुने नहुने भन्ने द्विविधा रहेको थियो । अर्कोतर्फ यस प्रकृतिका लामो झोलुङ्गे पूलको निर्माण हालसम्म नभएकोले सो झोलुङ्गे पूल निर्माण सहज भएमा थप यस्ता प्रकृतिका झोलुङ्गे पूल निर्माण गर्न अवसर प्राप्त हुने अवस्था थियो ।

यस झोलुङ्गे पूल निर्माणको क्रममा लठ्ठा तान्ने कार्यलाई विशेष चुनौतिको रुपमा लिईँदै आएकोमा डिभिजनबाट विन्च मेसिन खरिद गरी लठ्ठा तान्ने प्रविधि भित्र्याएपछि उक्त झोलुङ्गे पूलको निर्माण कार्य सम्भव भएको हो । उक्त प्रकृतिको लामो झोलुङ्गे पूलकोे निर्माण सफल भएसँगै डाँडाकाँडा, नदिनाला, अग्ला पहाड, खोँचले भरिएको नेपालको भुगोलभित्र दुरदराजमा रहेका नागरीकहरुको आवतजावत र सेवासुविधाको पहँुच सम्भव हुनेछ । यस झोलुङ्गे पूल निर्माण अनुभवले विशिष्ट प्रकृतिको झोलुङ्गे पूल विकास, विस्तारमा थप टेवा पुग्ने छ ।
निर्माण व्यवसायी श्री थानी÷बि.एल.टि.÷हिमशिखर जे.भी. उक्त झोलुङ्गे पूलको निर्माण गरेको हो । झोलुङ्गे पूलको निर्माणको क्रममा निर्माणस्थल भन्दा तलतिर पर्ने मध्यपहाडि राजमार्ग, कालीगण्डकी राजमार्ग र विद्युत् प्रसारण लाइनको कारण लठ्ठा तान्ने क्रममा साथै भौगोलिक विकटताको कारण विण्डगाई ब्लक निर्माणका क्रममा आएका कठिनाईका बाबजुद डिभिजनको कर्मचारीहरुको मेहनत र समन्वय, निर्माण कार्यमा संलग्न श्रमिकहरु र निर्माण व्यवसायीको अथक प्रयास र व्यवस्थापन साथै स्थानीय सरोकारवालाहरुको सहयोग र समन्वयको कारण उक्त झोलुङ्गे पूलको निर्माण कार्य शुरु भएको १५ महिनाभित्र सम्पूर्ण कार्य सम्पन्न भएको हो । पुलको सिल्यान्यास राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गरेका हुन ।

उक्त झोलुङ्गे पूलकोे निर्माण कार्यको लागि रु १२ करोड २२ लाख १८ हजार ९ सय ५७ रुपैंया लाग्ने अनुमान गरिएकोमा स्थानीय पूर्वाधार विभागबाट उपलब्ध गराईएको २ करोड १८ लाख७४ हजार २ सय १ बराबरको लठ्ठा तथा बुल्डग ग्रिप्स बाहेक निर्माण कार्यको लागि निर्माण व्यवसायीसँको सम्झौता रकम भ्याट सहित ८ करोड २७ लाख ६ हजार ३ सय ८१ रहेको थियो । उक्त झोलुङ्गे पूलको भारबहन क्षमता एक पटकमा ६१२ पदयात्री रहेको छ ।

मध्यपहाडि राजमार्ग र कालीगण्डकी कोरीडोरको संगम बिन्दु मालढुंगा माथि उक्त दुवै राजमार्ग र कालीगण्डकी नदिमाथि निर्माण गरिएको उक्त झोलुङ्गे पूल बाग्लुङ सदरमुकाम र पश्चिमाञ्चल क्षेत्रको प्रसिद्ध धार्मिक क्षेत्र कालिका भगवती मन्दिर क्षेत्र नजिक रहेकोले उक्त क्षेत्रको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रमा थप योगदान पुग्ने देखिन्छ । साथै झोलुङ्गे पूलको निर्माणसँगै सो क्षेत्रको जनताको शैक्षिक क्षेत्र, स्वास्थ्य सेवा, बजारसम्मको पहुँच सुविधामा समेत सुधार भएको छ । यस झोलुङ्गे पूलको निर्माण पश्चात् पाङतर्फ आर्थिक विकासका गतिविधि अगाडि बढ्ने समेत देखिन्छ । झोलुङ्गे पूलकोे निर्माणसँगै घण्टौं लामो यात्रा गरी पाङबाट नजिकको बजार क्षेत्रमा आउने स्थानीय जनताको अबको यात्रा समय १५ मिनेटमा झरेको छ । (पत्रकार अशोक पौडेलको सहयोगमा)