पर्वतमा मास्क अनिवार्य : मास्क नलगाउनेलाई प्रहरीद्धारा सडकमै सजाय

१६ साउन, पर्वत । प्रहरीले मानिसलाई नियन्त्रयणमा लिएपछि उसलाई राख्न कार्यालयमा रहेको ‘हिरासत’ मा राख्ने गर्दछ । तर पर्वत प्रहरीले मास्क नलगाई बजारमा हिड्नेहरुलाई सडकमै ‘हिरासत’ बनाएर थुन्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालयले सडकमा नै अस्थायी प्रकारको ‘हिरासत’ बनाएर मास्क नलगाई हिड्नेलाई थुन्न थालेको हो ।

झट्ट सुन्दा सडकमै हिरासत कसरी संभब भयो भन्ने सबैलाई लाग्न सक्छ तर प्रहरीले फलामका पाईपहरु जोडेर मानिसलाई केहीबेर राख्नका लागि अस्थायी प्रकारको ‘हिरासत’ बनाएको छ । चारैतिर बार लगाएर मानिसलाई बिचमा राखेपछि आफुँ हिरासतमा बसेको अनुभूति होस भन्ने उद्देश्यले यस्तो बिधी अपनाईको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख बिश्वराज अधिकारीले बताए ।‘कम्तीमा मैले गल्ती गरे भनेर सडकमै थुनिएको अनूभुति होस र आगामी दिनमा गल्ती नर्ग सजग होस भनेर अस्थायी बार लगाएर राखिएको हो।’ उनले भने ‘धेरैले गल्ती भएको महसुस गरेर गएका छन, मास्क लगाएर हिड्न सहयोग पुग्छ।’

मानिसहरुले मास्क लगाउनुपर्छ भनेर जान्दा जान्दैपनि बेवास्ता गरेपछि मास्क नलगाउनेलाई सडकमै अस्थायी हिरासतमा राख्ने र प्रशिक्षण दिने काम प्रहरीले गरिरहेको छ । प्रहरीले बिहीबार कुस्माको लोकतान्त्रिकचोक र शिबालयचोकमा बसेर मास्क नलगाउनेलाई नियन्त्रणमा लिएको थियो । एकै दिनमा ७२ जनालाई नियन्त्रणमा लिएर सम्झाई पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रबक्ता प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिए । मास्क नलगाएकालाई बिच सडकमा नियन्त्रणमा राखेपछि धेरै सचेत बनेको देखिएको उनले बताए । प्रहरीलाई देखेपछि टाढैबाट मास्क लगाउन थालेका छन । ‘मास्क लगाउनुपर्छ भन्ने सबैलाई थाहा छ, तर बेवास्ता गरेका मात्रै हुन।’ उनले भने केही दिन यसरी सचेत बनाउँछौ, उलंघन गरेको देखिएमा जरिवाना तिराउने काम पनि गर्नेछौ।’

छिमेकी स्याङ्गजामा कोरोना फैलिएपछि पर्वत प्रबेश गर्ने र बाहिरीने नाकाहरुमा कडाई गर्न थालिएको छ । पर्वतको मध्य र दक्षिणमा स्याङ्गजाबाट भित्रीने नाकाहरुमा सुरक्षा जाँचमा कडाई गरिएको छ । दक्षिण पर्वतको ब्यापारिक कारोबार र आगमन सबै स्याङ्गजा संग निर्भर छ । दक्षिणमा सबैभन्दा बढी सवारी साधन भित्रने हुवास, कार्किनेटा लगायतका नाकामा बुधबार बिहानैदेखि सुरक्षा जाँचमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।