बर्षातले पर्वतका ग्रामीण सडक अस्तब्यस्त, निर्माणधिन सडक भत्किए, ठाउँ ठाउँमा पहिरो

९ साउन, पर्वत । निरन्तरको बर्षातका कारण पर्वत जिल्लाका ग्रामीण सडकहरु अस्तब्यस्त बनेका छन् । जिल्लाका झण्डै १७ वटा ग्रामीण सडक निर्माणधिन अवस्थामा छन् । ति सडकहरु विगत १ महिना देखिको अविरल बर्षातका कारण अस्तब्यस्त बनेका छन् । असार महिनाको शुरुवातीसंगै शुरु भएको बर्षा अहिले पनि जारी छ । बर्षाका कारण निर्माण सम्पन्न भएका सडकहरुमा पनि क्षति पुगेको छ । उता, निर्माणधिन सडकहरुका कारण कतिपय बस्ती भने जोखिममा परेको छ ।

अहिले जिल्लामा पूर्वाधार कार्यालय, सडक डिजिभन कार्यालय, आरसिआइपि, भुकम्प पुर्ननिर्माण कार्यालय र स्थानीय तहहरुले सडक निर्माणको काम गरीरहेका छन् । जिल्लाका ७ वटा स्थानीय तहमा गत असारसम्म कम्तिमा ४० किलोमिटर सडक कालोपत्रे गर्ने गरी काम अघि बढे पछि सरकारले घोषणा गरेको लक डाउनका कारण त्यो सवै काम प्रभावित भएको थियो । कालोपत्रेको अन्तिम चरणमा रहेका सडकहरुमा पनि कालोपत्रे नहूँदा अहिले बर्षातका कारण सडक भत्किने, भाँसिने र पहिरो जाने काम भईरहेको छ । यस्तो अवस्थामा कतिपय सडकहरुले भने वस्ती नै जोखिममा समेत पारेका छन् ।

जिल्लामा पूर्वाधार विकास तर्फ उल्लेखनीय काम भइरहेको बेलामा लक डाउन र त्योसंगैको बर्षातले सडकहरु निर्माणमा बजेट बढ्ने देखिएको छ । संघीय सांसद पदम गिरी भन्छन्–‘पर्वतमा सडक विकासको रप्तारमा ब्रेक लागेको छ ।’ अवको दुई बर्ष भित्र जिल्लाका सवै मूख्य सडक कालोपत्रे गर्ने योजना अव १ बर्ष पछि धकेलिएको सांसद गिरीको भनाई छ । लक डाउनका कारण सडकको काम हुन पाएन् । त्यसपछिको बर्षातले सडकहरु अस्तब्यस्त बनाएको छ । गिरीले भने –‘सडक निर्माणको लागत पनि बढ्ने भएको छ’ पूर्वाधार कार्यालयका लेखाप्रमुख तथा सुचना अधिकृत गौरबदास बैरागी भन्छन–‘ सवै सडकको निर्माण कार्य रोकिएको छ, यहि बेलामा बर्षातले सडकहरुमा ठूलो क्षति पुराएको छ’ कालोपत्रेको चरणमा रहेका सडकहरुका कामदार लक डाउनका कारण घर गएकाले गत आर्थिक बर्षमा प्रगति अपेक्षाकृत हुन सकेन । उनले हिउँदको समय शुरु नभएसम्म सडकका कामहरु शुरु हुन नसक्ने बताए ।

ग्रामीण सडक सञ्जाल आयोजना (आरसिआइपि)का ३ वटा सडकहरुको अवस्था पनि अस्तब्यस्त बनेको छ । केहि किलोमिटर सडक कालोपत्रे गर्ने गरी काम भइरहेको आयोजनाका सवै खण्डका काम बन्द अवस्थामा छन् । आयोजनाको अर्मादी, खुर्कोट बनौ सडक भत्कँदा त्यसले बस्तीलाई समेत जोखिममा पारेको छ । निर्माणधिन लुंख हुवास सडकका यात्रा कष्टकर हुने गरेको छ ।

सडक डिभिजन कार्यालय मार्फत भइरहेका साना आयोजनाहरुमा पनि बर्षातले काम प्रभावित गरेको छ । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालले सडक निर्माणमा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकिएको बताए । गत बर्ष विनियोजीत बजेट फ्रिज गएको उनको भनाई छ । जिल्लाका झण्डै आधा दर्जन बढि सडकहरु उक्त कार्यालय मार्फत स्तरोउन्नतीको चरणमा थिए ।