पैयू गाउँपालिकाको आगामी बजेट ४१ करोड ६३ लाख

११ असार, पर्वत । जिल्लाको पैयू गाउँपालिकाको आगामी बजेट ४१ करोड ६३ लाख ४६ हजार ३ सय ५० रुपैंया प्रस्ताव गरिएको छ । गाउँपालिकाका सातौ गाउँ सभामा उपाध्यक्ष जसमति गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन ।

गाउँ सभामा प्रस्तुत भएको उक्त बजेटको विषयमा गाउँ सभाका सदस्यहरु वीच छलफल भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतवहादुर रानाले जानकारी दिए । प्रस्तुत भएको बजेटको विषयमा गाउँ सभाका सदस्यहरु वीच छफलफल गरी आगामी असार २८ गते पुनः गाउँ सभा मार्फत बजेट पास गर्ने गरी तयारी भईरहेको रानाको भनाई छ ।

गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले यस अघि गाउँ सभामा आगामी बर्षको नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष तिवारीले गाउँपालिकाको आर्थिक विकासको पहिलो मेरुढण्ड कृषि र पशुपालन ब्यवसाय भएको भन्दै त्यस तर्फ लक्षित कार्यक्रमहरु सञ्चालन गरिने बताएका थिए । उनले कृषि सडकको स्तरोउन्नती गर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रको विकास गर्ने गरी आगामी नीति तथा कार्यक्रमहरु ल्याउन थिए ।

अध्यक्ष तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सवै प्रकारका मानिसहरुको आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी विकासका आयोजनाहरुका खाका तयार हुने कुरा उल्लेख गरिएको छ ।

यसै वीच उता, राजनैतिक दल वीच विवाद देखिएको छ । पालिकामा विपक्ष दलको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गाउँ सभा, बजेट र कार्यक्रमको कार्यान्वयन प्रति असन्तुष्टि ब्यक्त गरेको छ ।

पार्टिका गाउँ कमिटिका अध्यक्ष चोललाल न्यौपाने र सचिव रेशमलाल सापकोटाले गाउँपालिकालाई विरोध पत्र प्रदान गर्दै गाउँपालिकाले एक्लौटि ढङगले बजेट ल्याउने र कार्यान्वयन गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

योजनाहरुको छनौट गर्दा एक्लौटि ढङगले गरेको र पक्षपात पूर्ण निर्णय गर्ने तयारी गरिएको भन्दै उनीहरुले सवै दलहरु वीच एकता कायम गरेर बजेट ल्याउनुपर्ने माग गरेका छन् ।

पहिलेका बर्षहरुमा राजनैतिक दलहरु सहित उद्घाटन र मन्तब्य राखेर बजेट ल्याउने प्रचलन रहँदै आएकोमा यस पटक कोरोना संक्रमणका कारण गाउँ सभा सदस्यहरु वीच मात्रै बजेट प्रस्तुत गरेका कारण केहि दलहरु असन्तुष्ट रहेको गाउँपालिकाले जनाएको छ ।