फलेवास नगरप्रमुख शर्मा र कालीगण्डकी जलाशययुक्त परियोजनाको अध्ययन टोली वीच छलफल

५ साउन, पर्वत । जिल्लाको सवैभन्दा ठूलो जलासयुक्त परियोजना कालीगण्डकी जलासययुक्त परियोजनाको विषयमा फलेवास नगरप्रमुख पदमपाणी शर्मा सहित पूर्व सम्भाब्यता अध्ययन टोली वीच छलफल भएको छ । आगामी आर्थिक बर्षका लागि संघीय सरकारबाट ६ सय ९२ लाख रकम विनियोजन भइ उक्त रकमले पूर्व सम्भाब्यता अध्ययनको काम अघि बढाउने निर्णय भइसकेको छ ।

यस कार्यका लागि संघीय सरकारको सिंचाई तथा जलश्रोत मन्त्रालयले चालु बर्षमा गरेको प्रारम्भिक सर्भेक्षण पछि परियोजनाको डिपिआर तयार गर्नका लागि ग्लोबल टेण्डर समेतको आब्हान भइसकेको छ । ग्लोबल टेण्डर आब्हानबाट डिपिआर निर्माण गर्ने कम्पनीको रुपमा एमएमइसि इन्टरनेशनल जेडि कन्सल्टेन्सी जेभीले जिम्मा पाएको छ । उक्त कम्पनीका प्रतिनिधिका वीचमा नगरपालिकाको कार्यालयमा आयोजनाका विषयमा छलफल भएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए ।

जिल्लाको फलेवास नगरपालिका, विहादी गाउँपालिका र जैमुनी नगरपालिकामा निर्माणको प्रस्ताव गरिएको उक्त आयोजनाको प्रभावित क्षेत्र कुश्मा नगरपालिका समेत हुनेछ । यस अघि प्रस्तावका रुपमा रहेको उक्त परियोजनालाई औपचारिक रुपमा फलेवास नगरपािलकाले अघि बढाएको थियो । नगरपालिकाले पर्वत, बागलुङ, र गुल्मीका स्थानीय पालिकाहरुको भेला समेत गरी परियोजना अघि बढाउन नगरप्रमुख शर्माले दबाद सृजना गरेका थिए ।

पालिकाहरुको सहमति र प्रस्ताव पछि पर्वत जिल्लाबाट संघीय सरकारमा प्रतनिधित्व गर्ने संघीय सांसद पदम गिरीले समेत बागलुङ र गुल्मीका सांसदहरुको हस्ताक्षर गरी आयोजना अघि बढाउन माग गरेका थिए ।

उता, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, प्रदेश सरकारका मन्त्री विकास लम्सालले पनि आयोजनाका कारण पर्वत र यस क्षेत्रको विकासमा उल्लेख्ख भूमिका खेल्ने भन्दै आयोजना अघि बढाउन पहल गरेका थिए । गत बर्ष संघीय सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समेत यो परियोजनाको नाम नै उल्लेख गरेर आयोजनालाई अघि बढाएको थियो । सोहि बमोजीम चालु आर्थिक बर्षमा आयोजनाको प्रारम्भिक सर्भेक्षण सम्पन्न भएको छ । प्रारम्भिक सर्भेक्षणबाट ८ सय ४४ मेघावाट क्षमताको जलविद्युत निकाल्न सकिने विज्ञहरुले निचोड निकालेका छन ।

उक्त परियोजनामा पानीको पूर्णकालीन आपूर्तिको स्तर ७ सय ५० मिटर हुनेछ भने भने तल्लो पानीको स्तर ५ सय ३३ मिटरको हुनेछ । आयोजनाको बाँधको उचाई २ सय २० मिटरको हुने आयोजनाको सर्वे टोलीका इन्जिनियरले जानकारी दिएका छन् ।