भारत : रहर होइन् बाध्यता हो

(गणेश गिरी)

देश भर अहिले भारतबाट नेपाल फर्कनेको ताँती छ । यो बेला खुल्ला आँखाले देख्न पायो, भारतमा नेपालीको संख्या कति रहेछ भनेर । खुल्ला सिमा भएका कारण नेपालीका लागि सवैभन्दा सजिलो श्रमबजार भारत नै हो । भारतमा, नेपाली भूमिका प्रत्येक बस्तीका कोहि न कोहि मानिस पुगेकै छन् । लक डाउनका कारण भारतमा थुप्रै मानिसको रोजगारी गुमेको छ । अलपत्र परेका छन् ।

उनीहरु भारतमा घुम्न, मनोरञ्जन गर्न, रमाइलो गर्न र पर्यटक बन्न गएका होइनन् । घरमा खाने अन्नको जोहो गर्न गएका हुन् । श्रीमतिको फाँटेको चोली टाल्नका लागि गएका हुन् । अवोध आफ्ना बच्चाहरुको भविश्य बनाउन गएका हुन् । चुहेको छाना छाउन गएका हुन् । नेपालमा न रोजगारका अवसर छन् । न त राजैतिक स्थायित्व छ । यी सवैको हन्डर ठक्कर खाएका अधिकांश नेपालीहरु श्रम बजारको खोजी गर्दै भारतमा जाने गर्दछन् । नेपालीहरुले भारतलाइ मुग्लान पसेको पनि भन्छन् । जे परिभाषा र जस्तो आकारमा बर्णन गरे पनि नेपालीको भारत यात्रा रहर होइन् बाध्यता नै हो । नेपालमै श्रम मिल्ने भए, दुई छान खाने जोहो नेपालमै हुने भए, आम्दानीका श्रोतहरु नेपालमै भए भारतमा नेपालीहरुको आकर्षण कम हुने थियो ।

भारतले नेपालीहरुलाई नीजि क्षेत्रमा मात्र होइन् सरकारी जागिर पनि दिएको छ । त्यहाँको सैनिक, रेल सेवा र अन्य सरकारी क्षेत्रमा नेपाली नागरिकता भएका नेपालीहरुले रोजगारी गर्न पाउँछन् । यसैले पनि भारतमा नेपालीहरु रोजगारका लागि जाने गर्दछन् । भिषा प्रक्रिया नहुने, लगानी गर्न नपर्ने र भाषाको समस्या नपर्ने भएका कारण पनि नेपालीहरुको पहिलो रोजाई भारत पर्ने गरेको छ । यो तितो सत्यलाई हामीले सधै हेक्का राख्नुपर्दछ । भारतमा गएका २५ लाख नेपालीले नेपालमा अर्बौ रकम भित्राएकाछन् । उनीहरुको चुल्हे बलेको छ । यो तर्कमा भारतीयहरु नेपालको श्रम बजारमा नआएको भने होइनन् । नेपालका केहि त्यस्ता क्षेत्रहरु छन् जहाँ भारतीयहरुले काम गर्दछन् । तर संख्यात्मक रुपमा नेपालको ठूलो जनसंख्या भारतमा रहेको देखिन्छ ।

पछिल्लो समय देश दुनियाँमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा विगत ७८ दिन पूर्ण रुपमा लक डाउनको घोषणा भएको छ । भारतमा समेत लक डाउनको घोषणा हुँदा नेपालीहरु भारतीय भूमिमा समस्यामा परे । भारतले आफ्नो देशमा जान आग्रह गरयो । नेपाल सरकारले भने भारतबाट संक्रमण नेपालमा भित्रने भनेर उनीहरुलाई भारतमै बस्न आग्रह गरयो । दोहोरो चपेटामा परेका भारतमा बसेका नेपालीहरु अन्ततः ७० दिन पछि औपचारिक रुपमा नेपाल भित्रन पाएका छन् । जन्मेको मोटो, आफ्नो भूमि टेक्न पाइने हो की होइन् भन्ने त्रासका वीच नेपाली भूमिमा खुट्टा टेकाउन पाउँदा मात्रै पनि धेरै नेपालीले हर्षका आँशु समेत झारे । आफ्नै गाउँका पाखा पखेर, हिमाल, छहरा र पहरामा रमाउँदै आफ्नो परिवारलाई भेट्ने सपना देखेर उनीहरु नेपाल र भारतका विभिन्न नाकाबाट नेपालमा भित्रिएका छन् ।

भारतबाट नेपालीहरु नेपालमा भित्रिएसंगै उनीहरुले एउटा कोसेली लिएर आए । त्यो पनि उनीहरुको रहर होइन् बाध्यता नै हो । कोरोना भाइरसको संख्या निकै न्यून भएको नेपालमा नेपालीहरुसंगै आएको भाइरसको संख्या दिनानुदिन बढिरहेको छ । नेपालमा भाइरसको संख्या बढ्नुमा नेपालीको होइन् नेपाल सरकारकै दोष देखिन्छ । सरकारले स्वदेशमै श्रम दिन सकेको भए, विदेश नजाने वातावरण बनाउन सकेको भए, विदेशको संक्रमण यति धेरै मात्रामा नेपालमा भित्रने थिएन् । नेपाल जस्तो अल्पविकसित राष्ट्रमा अधिकांश नेपालीहरु श्रमको खोजी गर्दै भारतमा मात्र होइन् खाडी मुलुक र युरोपेली राष्ट्रहरुमा समेत पुगेका छन् । तथ्यांकले झण्डै ७० लाख भन्दा बढि संख्यामा मानिसहरु विदेशमा रहेको देखाउँछ ।

यस्तो अवस्थामा भारतबाट नेपाल छिर्नेहरुलाई हेला होचो होइन्, सम्मान र मानवीय ब्यवहार गर्नुपर्छ । अव स्वदेशमै उत्पादनमा लगाउने, रोजगार बनाउने र नेपालमै श्रम बजार तयार गर्न पर्दछ । दिनहुँ जिल्ला जिल्लामा सयौको संख्यामा मानिसहरु भित्रिएका छन् । उनीहरुमा कोरोना संक्रमण भए नभएको जाँच गर्ने, संक्रमण भए उपचार गर्ने र उनीहरुलाई सुरक्षित तरिकाले क्वारेन्टाइनमा राख्ने दायित्व सरकारको हो । स्थानीय सरकारले त्यो दायित्व पुरा गर्नुपर्नेछ । जहाज चढेर आउनेलाई सम्मान गर्ने र रेल चढेर आउनेलाई अपमान गर्नु हुँदैन् । उनीहरुलाई स्नेहका साथ कोरोना विरुद्धको महाअभियानमा सारथीको रुपमा लिनुपर्छ । यो बेलामा केहि नयाँ सिकाईहरु भएका छन् । केहि नयाँ कथाहरु थपिएका छन् । ति सवै कुरालाई मिलाएर अव नयाँ योजना, नयाँ सपना बोकेर देश निर्माणको कार्यमा लाग्नुपर्ने देखिन्छ ।

२०७७ साल जेठ २५ गते प्रकाशित ।