लक डाउनले बद्लिएको दैनिकी

गणेश गिरी/ खुल्लेको आकाशमा केहि थान तस्विर खिच्चेर । मोदीका असला र गाउँका लोक्कल कुखुरालाई खाजा बनाउने । आधा दर्जन नघट्ने गरी साथीहरु जम्मा भएर दैनिक जसो सुख दुःखका कुराहरु गर्ने । नियमित कर्ममा दैनिक केहि घण्टा समय विताउने । यी र यस्ता थिए दैनिकी । दिनमा फरक फरक समाचार लेख्ने रहर चल्थ्यो । औपचारिक कार्यक्रममा आयोजककै आलोचना गर्ने विषय पाइन्थ्यो । चिया खान, चिया पसलहरुमा घण्टौ वित्थे । रिर्पोटिङमा गाउँ जाने भने पछि मन फुरुङग हुन्थ्यो । गाउँमा गयो । लोक्कल परिकारमा रमायो । बन्दै गरेका नयाँ सडकहरुको रिपोटिङमा मन अझै फुरुङग हुने । १ दशक अघि मात्र पर्वतका ग्रामीण क्षेत्र हिड्नुपर्दा जत्तिको पिडादायी हुन्थ्यो अहिले त्यस्तो छैन । धेरै सडक स्तरोउन्नती भएका छन । कालोपत्रे हुनका लागि सडकहरु उधारिएका छन् । सडकहरु चाक्ला बनाइएका छन । सवै गाउँमा अहिले जनप्रतिनिधिहरु छन् । समाचार लेखाउन, आफ्ना काम देखाउन र प्रचार गराउन उनीहरु पनि हामीसंग नजिक हुन रुचाउँछन् । हाम्रा समाचारका शीर्षकहरु पनि गाउँमा आएका परिर्वतन लेख्नमा उत्सुक हुन्छ । केहि घण्टा उनीहरुका गतिविधिहरुको इतिवित्रान्त सुन्नमा निकै रमाईलो हुन्छ । वडाहरुका गतिविधि, पालिकाहरुका कार्यक्रम आफैमा जनता केन्द्रित हुन्छन् । उनीहरुले जनतासंग कसरी नजिक हुन सकिन्छ भनेर अनेकौ कार्यक्रमहरु ल्याएका छन् । अर्को तर्फ पालिकाहरुको पनि प्रतिस्पर्धा छ । अर्को पालिकाले भन्दा फरक र नयाँ काम गर्नमा अहिले जनप्रतिनिधिहरु लालायित छन् । कामले नै जनताको मन जित्न सकिन्छ भन्ने उनीहरुलाई लागेको छ । यत्ति मात्र होइन् । यति बेला स्थानीय सरकारमा युवा जनशक्ति छ । कर्मचारीहरुलाई पनि आफ्नो कार्य क्षेत्रमा उलेख्य परिर्वतन देखाउने जाँगर र रहर छ । युवा जोशले पनि होला कर्मचारीहरुका केहि न केहि नयाँ शीर्षक हुने कथाहरु सुन्न पाइन्छ । सदरमुकाम छोडेको पत्तो नै हुँदैन् । दिन कसरी वित्छन भनेर । अग्ला डाँडाहरुमा पुगेर दृश्य नियालो । सडक चौडा भएको देखेर छाति चौडा बनायो । आफ्नो जन्म जिल्ला भएर पनि होला । कथाहरु सधै सकारात्मक मात्र लेख्न मन लाग्छ । हुनत् यहाँ भ्रष्ट्रचार, अनियमितता र जनताका चाहना विपरितका थुप्रै कथाहरु पनि छ । समाज अव अग्रगमनमा दौडिएका कारण, प्रगति पथमा हिडेका कारण र अव सम्बृद्धिको यात्रा तय भएका कारण केहि सामान्य कमजोरीले सुधार गर्ने अवसर पाएका छन् । मनमा जति सकारात्मक विचारहरु छरियो । त्यति राम्रा उपलब्धिहरुको मात्र खोजी गर्न मन लाग्छ । केहिमा आत्मियताले गर्दा कमजोरीहरु सुधारका लागि सुझाब पनि दिन सकिन्छ ।

अचेल समाचार सकारात्मक भन्दा धेरै नकारात्मक विक्री हुन्छ । डिजिटल मिडियामा नकारात्मक समाचार हाल्यो भने, त्यसका पाठक धेरै हुन्छन् । सकारात्मक विषय हाले ति सामाग्री पढ्ने पाठक पाउन गाहे हुन्छ । देश सम्बृद्धिको यात्रा हिड्ेको छ, त्यो सवैले अनुभूति गरेकै छन् । सवैलाई सम्बृद्धि, आर्थिक विकास र सम्पन्नशाली देश बनोस् भन्ने चाहना छ । त्यो चाहना पुरा त्यति बेला मात्र पुरा हुनेछ, जति बेला ३ तहका सरकारले राम्रा कामहरु गर्नेछन् । उनीहरुले गरेका असल अभ्यासको सिको गर्नुपर्छ । त्यसैले सम्पन्न समाज निर्माणको लागि बहस सधै विकास र सम्बृद्धिको लागि गरिन्थ्यो ।अचेल गाउँहरुमा होम स्टेको अवधारणा आएको छ । पर्यटकहरुलाई लक्षित गरी कटेज र टेन्टहरुको बसाई उपलब्ध छन् । गाउँले परिवेशमा स्वच्छ हावा, मिठा परिकार र सरल जीवन शैलीमा रमाउने चलनमा रिर्पोटिङका आनन्द नै बेग्लै हुने ।

विगत १ महिनाले दैनिकी फेरिएको छ । आफन्तहरु देख्दा पनि मन कटक्क खान्छ । नजिक पर्न नपाए हुन्थ्यो, घरमा नआइदिए हुन्थ्यो यस्तै लाग्छ । साथीहरु भेट्दा पनि, धेरै दिन पछिको भेट सम्झेर गर्लम्म अंगालो हाल्छन् की भन्ने चिन्ता मात्र लाग्ने । एउटै थालमा जुठो खाएका साथीहरु भेट्दिा पनि मन जिरिंग हुन्छ । कतै हात मिलाउन नजिक आउँछन की भनेर । यो सवै डर रोगको डर हो । लक्षण विना नै नेपालमा फैलिएको कोभिड–१९ ले सवैलाई त्रसित बनाएको छ । लक डाउनको १ महिना पार गर्दा आफ्नाहरुसंग भेटिन डर भएको छ । विदेशबाट फर्केकोमा पहिले गर्व हुन्थ्यो । ठूला देशमा गएको भनेपछि हामीलाई पनि ठूलै लाग्थ्यो । अचेल परिस्थिती फेरिएको छ । विदेशबाट फर्केको भनेपछि मनमा तरंग उठ्छ । यो अवधिमा घरकै बसाई । घरबाट बाहिर निस्कन पनि डर । महामारी कतै आउँछ की भन्ने चिन्ता । मोवाईलबाट कुराकानी गरेको भरमा लेखिएका समाचारहरु । पाठक प्रतिको उत्तरदायीत्व यसरी नै निर्वाह गरियो । डिजिटल मिडिया भएका कारण नै समाचार लेखेर पाठकसामु पुराउन सहज भयो । घरबाट निस्कन पनि मन नलाग्ने भएको छ । कतै जाउँ, नयाँ मानिस भेट्दा पनि डर । रोग आफूलाई लागे त्यसले मरिन्न जस्तो लाग्छ । तर रोग लागे पछि परिवारसंगको सम्पर्क पनि टुटने । आइसोलेशन नामको कोठा भित्र थुनिनु पर्ने । सामाजिक दुरी मात्र होइन् मानवीय दुरी पनि टाडा हुने । संक्रमण लागे आफ्ना परिवारलाई पनि सर्छ की भन्ने अर्को डर । आफू संक्रमीत हुनु भन्दा परिवार संक्रमीत हुने अर्को ठूलो भय । यस्ता भय, त्रास, जोखिमका वीच वितेका १ महिनाले आगामी दिनमा जीवनयापन सामान्य बनाउने अर्का चुनौति थपिएको छ ।

विहान उठ्यो, विनाको नास्ता खायो । इन्टरनेटमा रमायो । खाना खायो । दिनको समय सुतेर वितायो । उठेर खाजा खायो । केहि थान समाचारहरु पढ्ने र केहि फोन सम्बादबाट समाचार लेख्दा साँझ पर्छ । खाना खायो । केहि मित्रसंग कुरा गरयो, समाचार पढ्यो, टिभि हेरयो र सुत्यो । दैनिकी यस्तो भएको छ । यसले शरीर स्वस्थ्य बनाएर शरीरमा प्रतिरोधी क्षमता विकास गर्न पनि दिएको छैन् । जीवनलाई सामाजिक बनाउन पनि पाइएको छैन् । आगामी दिन अझै कस्तो हुने हुन् । भन्न अझै मुस्किल छ । वितेको १ महिनाले जीवनको परिभाषा पनि बद्लिएको छ । आफन्तहरुको परिभाषा पनि बेग्लै भएको छ । विदेश यात्रा र स्वदेशको बसाईमा भिन्दै फरक पन आएको छ । दैनिक अचेल बद्लिएको छ । पुरानो दैनिकीमा फर्कने अव कति कठिन हुन्छ् त्यो समयले देखाउनेछ । १३ वैशाख, ०७७ मा प्रकाशित ।

लेखक जि एण्ड जि मिडिया प्रालिका प्रवन्ध निर्देशक र पर्वत न्यूज डटकमका सम्पादक हुन् ।