आमा !

–ओमप्रसाद घायल
डाँडामा घाम डुब्नुअघि
सडकको पर परसम्म आँखाहरु ओछ्याएर
तिमीले त्यसरीनै
कुर्दिहौली आमा मेरो निठूर बाटो
तर तिमीलाई उधारो भाखा दिएर
मपनि त जल्दैछु एउटा प्रश्चातापको अग्नी ।

तिमीले त्यता प्रत्येक दिन
मेरो सम्झनामा जसरी बगाउँछ्यौ नूनीला आँसुहरु
यता मेरो कानमा बज्छ विस्मयको धून
तिमीले सुस्केरा हाल्दा हरेकपटक
पश्चातापले गल्छ मेरो शरीर ।
उसैगरि तिम्रो दमको विमार
र अल्सरले गाँजेको बूढ्यौली शरीर
मेरा हरेक सपनाहरुमा आउँछ
र धिकार्छ म आफैलाई ।

आमा पिठ्युँमा मलाई बोकेर धेरै चढ्यौ तिमीले
त्यो खर्कको उकालो
र गोबरको डोकोसँग मलाई डो¥याएर
तिमीले कति झ¥यौ त्यो उत्ताने बेसीँ
आफ्ना हरेक दुःखहरुलाई
एउटा मीठो सपनामा अनुवाद गरेर
तिमीले बनाएको भविस्यको घर
आज तिम्रै अघि गर्लाम्म ढलिरहेको छ आमा ।
सम्झिन्छु
आज दम र अल्सरले गाँजेको तिम्रो बेसहरा जिन्दगी
पिँढीको डिलमा बसेर कुरिरहेको छ
मेरो निठूर शरीर,
र अस्ताउँदो सूर्यलाई हेरेर
तिमी पनि हाम फालिरहेकीछ्यौ
अन्तरमनको त्यही नीलदहमा ।

ठिक त्यसैगरि
तिमीले सल्काउने आगोको फिलिङ्गोेमा
मेरोपनि सल्किरहेको छ छाति
र उडेको छ उसैगरि आँखाबाट उत्तापको मुस्लो धुँवा ।
तर विवशताको पराकाष्ठा
आजपनि उही एक गासको लागि
उही एक बासको लागि
उही एकसरो कपासको लागि
मैलेपनि बेचिरहेको छु शहरमा आफूलाई

आमा यता शहरतिर
सपनाहरु किन्न आएको धेरैबर्षपछि
मैले बल्ल पत्तो पाएको छु आफ्नै सपनाको मूल्य
यहाँ सपनाहरु कति महङ्गा भइसकेछन् आमा
प्रत्येकदिन बेचिरहेको छु आफूलाई
तर म बेचिएको मूल्य र मेरो सपनाहरुको दूरी
भेटिएको छैन अझै ।

यता शहरतिर एउटा शरीर दौडाइरहेको छु
तर मन तिमीसँगै हिँडिरहेको छ आमा
त्यही गाउँको पँधेरोतिर
र त्यहीँ भेडीखर्कमै छुटेको छ
मेरो आफ्नो मुटु
तर, तिमीलाई विस्वास लाग्दैन होला आमा
मैले त तिम्रो अनुहारमै बिर्सेर आएको छु
मेरो आँखाको दृष्टि ।

आमा
यो जिन्दगी छ र सायद सपनाहरु पनि छन्
यो जिन्दगी छ र सायद विवशताहरु पनि छन्
आकाशको घाम आज डुवेपनि
फेरि उदाउँछ अर्को विहान
तिम्रो आँखाको सपना बचाएरै राख्नु आमा
म आफ्ना नक्कली सपनाहरु परित्याग गरेर
सँधैसँधैका लागि फेरि फर्कने छु
तिमी बाँचेको गाउँ ।

आज मातातीर्थ औंसीको दिन संसारका सबै आमाहरुमा समर्पित