पोखरा–बागलुङ सडकको पर्वत खण्ड दैनिक ३ घण्टा बन्द हुने

२९ फागुन, पर्वत । सडक फराकिलो र स्तरउन्नतीको काम भैरहेको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड चैत्र १ गते शनिबार देखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।

सडक बिस्तारको क्रममा बिष्फोटन गर्नुपर्ने भएकाले कुस्माबजारको खरेहा फलामखानी देखि चुवाको चाईनाचोक सम्म दैनि तीन घण्टा घण्टा बन्द गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको बैठकले मध्यान्न साढे १२ बजे देखि साँझ साढे ३ बजे सम्म सडक बन्द गर्ने निर्णय गरेको छ । लोकमार्गको पर्वत खण्डमा पर्ने चुवाको बाघदुला भीरमा बिष्फोटन गर्नका लागि मध्यपहाडी लोकमार्ग कार्यालयले सडक बन्द गर्न माग गरेका कारण सर्बपक्षीय बैठकले सडक बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताईन ।

‘सडक बिस्तारका लागि भीर फोर्नका लागि बिष्फोट गर्नुको बिकल्प नभएकाले केही घण्टा आवगमन रोकेरै भएपनि काम गर्नुपर्ने अबस्था आएको हो’ प्रजिअ नेपालले भनिन्, ‘यात्रु र सवारी साधनको मर्कालाई ध्यानमा राखेर छोटो समय बन्द गर्ने निर्णय भएको हो।’

बम बिष्फोट हरेक दिन नहुने र बिष्फोटनका लागि ड्रिल गर्ने (प्वाल बनाउने) क्रममा भने केही बेर सडक बन्द गरेर सडक खुल्ने निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिका इन्जिनियर बिबेक रेग्मीले जानकारी दिए ।

बढीमा चार दिन मात्रै बिष्फोटन हुन्छ, त्यो बेला तीन घण्टा नै बन्द गर्नुपर्छ’ उनले भने ‘अन्य दिनमा प्वाल बनाउने काम गर्दा केही बेर रोकेर सवारी वारपार गराउन सकिन्छ’ सोही समयमा मोदी गाउँपालिकाको वडा नं ६ बेतनीमा पनि भीर कटानको काम हुने भएकाले सवारी साधन केही बेर रोक्ने तथा छाड्ने गरेर सडक बिस्तारको काम गर्ने सहमति पनि भएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ ।

२०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो ।