हालसम्म नेपालमा काेराेना संक्रमित छैनन्

२३ फागुन, काठमाडौं । स्वास्थ्य सेवा विभागको तथ्यांकमा पछिल्लो समय नेपालमा कसैमा पनि कोरोना भाइरस संक्रमित छैनन्। बेला बेलामा भाइरसको आशंकामा अस्पताल भर्ना हुनेहरु छन् ।

तर, सबैको परीक्षणबाट नेगेटिभ परिणाम आएको छ। सोमबार पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चारजना विरामी भर्ना भए। उनीहरुको कोरोना भाइरसको आशंका गरिएको थियो। तर, रिपोर्ट नेगेटिभ आयो।

यसअघि पनि कोरोनाको आशंकामा मानिसहरु परीक्षणका लागि पुगेका थिए। तर, कसैमा पनि रिपोर्ट पोजेटिभ आएन। चीनबाट ल्याइएका नेपालीहरुलाई पनि विशेष निगरानीमा राखी पटक पटक टेष्टका क्रममा नेगेटिभ देखिएपछि सोमबार नै घर पठाइएको छ।

नेपालमा एकजना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। ती संक्रमित चीनबाट फर्किएका थिए। उनको चिकित्सकको विशेष निगरानीमा उपचार भएर संक्रमणमुक्त भई घर फर्किए। नेपालमा कोरोना भाइरसका कुनैपनि विरामी नरहेपनि रोगको जोखिम रहेको विश्व स्वास्थ्य संगठनले जनाइसकेको छ।

सर्वोच्च अदालतले कोरोना संक्रमित देशमा उडान रोक्न र आवागमन बन्द गर्न आदेश जारी गरिसकेको छ।