सांसदका प्रतिबद्धता पुरा हुँदै : सिल्मी–ठुलिपोखरी–कार्किनेटामा कालोपत्रेको काम शुरु

८ फागुन, पर्वत । जिल्ला भित्रका मुख्य सडकहरु कालोपत्रे गर्ने योजनाको काम धमाधम अघि बढिरहेको छ । जिल्लाबाट निर्वाचित संघिय र प्रदेश सभाका सांसदहरुले जिल्लाका सवै मुख्य सडक कालोपत्रे गर्ने घोषणा गरेको २ बर्ष भित्र जिल्लाका अधिकांश सडकहरुमा कालोपत्रेको काम भईरहेको छ । यहि श्रृंखला बमोजीम कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने महत्वपूर्ण सिल्मी–ठुलिपोखरी–कार्किनेटा सडकमा कालोपत्रेको काम शुरु भएको छ ।

ग्रामीण पहुँच कार्यक्रम दुई खण्डमा उक्त सडकलाई यस अघि स्तरोउन्नतीको काम गरेको थियो । सडक स्तरोउन्नती भए पनि कालोपत्रेको लागि बजेट अप्राप्त हुँदा सडकमा थप काम हुन सकिरहेको थिएन । कुश्मा नगरपालिका वडा न १२ ठुलिपोखरी नेकपाका वडाअध्यक्ष गणेश पौडेलका अनुसार प्रदेश सरकारबाट थप रकम विनियोजन गर्दा सडक खण्डको ५ किलोमिटर कालोपत्रे हुन लागेको छ । बजेट अभावमा सडक अलपत्र परेपछि संघिय सांसद पदम गिरीको पहलमा प्रदेश सरकार भौतिक पूर्वाधार मार्फत बजेटको ब्यवस्था गरिएको अध्यक्ष पौडेलले बताए ।

सडकको बाँकी खण्ड पुरा गर्न अझै पनि बजेट अभाव रहेको भन्दै सवै खण्ड कालोपत्रे गर्ने कार्यका लागि थप बजेट ब्यवस्थापनका लागि संघिय सांसद र प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई अनुरोध गरिएको पौडेलको भनाई छ । बाँकी खण्ड प्रदेश सरकारसंग साझेदारी गरी कुश्मा नगरपालिका र फलेवास नगरपालिकाले बजेट ब्यवस्थापन गर्न सके पनि त्यो काम पुरा हुने फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा बताउँछन । उनले बाँकी झण्डै ३ किलोमिटर सडक कालोपत्रे गर्दा सडकको सवै खण्ड कालोपत्रे हुने भन्दै त्यसमा स्थानीय सरकार साझेदारी गर्न तयार रहेको बताए ।

सडक कालोपत्रे हुने भएपछि सिल्मीचोक कार्कीनेटा सडक खण्डको सवारी आगमनको दिवा सेवा एक महिना बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको निमार्ण ब्यवसायी र सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । अहिले सडक खण्डमा कालोपत्रे गर्नुपूर्व ढलान, ग्राभेल सहित रोलिङको काम भईरहेको छ ।

निर्वाचनको बेला प्रतिनिधि सभाका सांसद पदम गिरीले जिल्लाका सवै मुख्य सडक आफ्नो कार्यकाल भित्र जसरी पनि कालोपत्रे गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी र वन, वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले सडकहरुलाई नै प्राथमिकता राख्ने घोषणा गरेका थिए ।

जनप्रतिधिहरुले गरेको प्रतिबद्धता यति बेला मुर्त रुप लिदैछ । नेपाल कम्यनिष्ट पार्टी पर्वतका सचिव सुदीप कुँवर भन्छन–‘कम्युनिष्ट नेतृत्वको सरकारले जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।’ जिल्लाको विकासका लागि स्थानीय, प्रदेश र संघिय सरकारका सवै जनप्रतिनिधिहरुले प्राथमिकता दिएर लागिरहेको उनको भनाई छ ।

अहिले जिल्लाका १७ वटा सडकहरुमा कालोपत्रेको काम भईरहेको छ । यसैगरी ८ वटा मोटरेवल पुलहरु बनिरहेका छन । यी सडकहरुको काम अगामी २ बर्ष भित्र पुरा हुने जनप्रतिनिधिहरुको दावी रहेको छ ।

जिल्लाको विकास निर्माणलाई गति दिनका लागि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीना, संघिय सांसद पदम गिरी, गण्डी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी र प्रदेश मन्त्री विकास लम्साल आफूहरु निरन्तर लागिरहेको बताउँदै आएका छन । यसैगरी स्थानीय तहका जनप्रतिनिधिहरुले पनि जिल्लालाई विकसित बनाउने अभियानमा आफूहरु लागिपरेको बताउने गरेका छन ।