पूर्व विद्यार्थीद्धारा जनआर्दश आधारभूत विद्यालयलाई प्रोजेक्टर सहयोग

१० माघ, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ५ बाजुङ स्थित जन आदर्श आधारभूत विद्यालयको ४० औं बार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयको बार्षिकोत्सवको अवसर पारेर उक्त विद्यालयका पूर्व विद्यार्थी तथा मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले एक थान प्रोजेक्टर हस्तान्तरण गरेका छन ।

बार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथिको मन्तब्य राख्दै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए । उनले गाउँपालिका भरीका सवै विद्यालयहरुमा निरन्तर सिकाई मूल्यांकनको विधि मार्फत शैक्षिक गुणस्तर कायम गर्न गाउँपालिकाले प्रयास गरीरहेको समेत बताए । उनले गाउँपालिकाले शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकताको क्षेत्रमा राखेको समेत बताए । शैक्षिक जनशक्ति उत्पादन गरेर त्यसबाट राष्ट्र निर्माणको बाटो खोल्नुपर्ने अध्यक्ष पौडेलको भनाई छ ।

कार्यक्रममा विशिष्ट अतिथि मोदी गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले सामुदायिक विद्यालयहरु प्रति अभिभावको विश्वासलाई अझै धेरै जगाउनुपर्ने धारणा राखे । उनले ग्रामीण क्षेत्रका विद्यालयहरुमा विद्यार्थीको संख्या घटिरहेको भन्दै शहरबाट गाउँ फर्क अभियान मार्फत गाउँका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्यामा बृद्धि गर्नुपर्ने बताए ।

विद्यालयका पूर्व विद्यार्थी समेत रहेका क्षेत्रीले आफ्ना बुवा धनबहादुर क्षेत्रीको हातबाट विद्यालयका लागि एक थान प्रोजेक्टर समेत हस्तान्तरण गरेका थिए । उनले विद्यालयमा प्रविधि मैत्री शिक्षा अध्यापन गराउन सहयोग होस भनेर आफूले प्रोजेक्टर हस्तान्तरण गरेको बताए । उनले आफूले अध्ययन गरेको विद्यालयको मायाका कारण यस्तो सहयोग आफूले गरेको समेत बताए ।

कार्यक्रममा मोदी गाउँपालिकाका गाउँ शिक्षा अधिकारी झकप्रसाद गौतम, मोदी ५ बाजुङका वडा अध्यक्ष दलबहादुर मल्ल, शिक्षा अनुमगन समितिका सदस्य हिमलाल पौडेल, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष रेशमलाल शर्मा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य डिलकुमारी केसी र सञ्चालन शिक्षिक कल्पना शर्माले गरेकी थिइन ।