कुश्माको जिरो किलोमिटर-गोदाम सडक कालोपत्रेको काम यसैबर्ष शुरु गर्ने मन्त्री बस्नेतको प्रतिबद्धता

२७ पुस, पर्वत । कुश्मा नगरपालिकाको अहिलेको वडा न ४ तीन पटकसम्म प्रतिनिधि सभाका सांसद बनेका कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीको घर भएको वडा हो । साविक शिवालय गाविस वडा न ८ र ९ मा पर्ने उक्त वस्तीका भित्री कुनै पनि सडक कालोपत्रे भएका थिएनन । जिल्ला विकास समितिले बजार क्षेत्रको मुख्य सडक कालोपत्रे गरे पछि उक्त वडाका अन्य महत्वपूर्ण सडक कालोपत्रे हुनबाट बञ्चित भएका थिए ।

३ पटकसम्म सांसद बनेर मन्त्रीको समेत चर्चा बटुलेका जोशीकै गृह वडाको सडक कञ्चि हुँदा त्यहाँका जनता माझ आक्रोस चुलिएको थियो । मुख्य गरी कालीगण्डकी नदी तर्फको चाक्लेको डिल क्षेत्र तथा जिरो किलोमिटर देखि भु संरक्षण कार्यालय हुँदै गोदाम जोड्ने सडक बत्ति मुनीको अध्यारो जस्तै बनेका थिए । सासदकै वडाका सडहरुको दुरदर्गाले सधै उनीहरुलाई गिज्जाईरहेको थियो ।

सोमबार त्यो सडकको अनुगमनमा पुगे गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत । बस्नेतसंगै प्रदेश सभा सदस्य जुनादेवी नेपाली, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेल, नेकपा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, नेकपा जिल्ला नेता गोविन्द गिरी पहाडी तथा शंकर गिरी पनि मन्त्री बस्नेतसंगै थिए । नेकपाका स्थानीय नेता शिवलाल सार्की, वडा न ४ का वडाअध्यक्ष मिना कर्माचार्य र वडा न ५ का वडा अध्यक्ष चित्रकला भारती,  वडाअध्यक्ष ६ का रुद्र गिरीले मन्त्रीलाई स्वागत गरे ।

सडकको अवस्था हेरेपछि मन्त्रीले एक साता भित्रै सडकको टेण्डर आब्हान हुने प्रतिबद्धता ब्यक्त गरे । उनले सडक अनुगमन पछि भने–‘संघिय सांसद पदम गिरी नेकपाका जनप्रतिनिधिहरुले यो बाटोको विषयमा धेरै पटक गुनासो गर्नुभएको थियो’ उनले सडकको अवस्था हेरेपछि अव सवैको घर घरमा कालोपत्रे सडक पुराउने काम एक बर्ष भित्रै पुरा हुने प्रतिबद्धता ब्यक्त गरे ।

‘ढुक्क हुनुहोस एक हप्तामा टेण्डर आब्हान हुन्छ’ उनले थपे–‘सडकको विषयमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सांसद लगाएले मलाई धेरै पटक अनुरोध गर्नुभएको थियो, आज सडक प्रत्यक्ष हेर्न पाए ।’ उनले सडक निर्माण गर्दा जग्गा मिचियो भनेर विवाद भने गर्न नहुने चेतावनी समेत दिए । यो संगै कुश्मा नगरपालिका वडा न ४ का सवै सडक कालोपत्रेयुक्त हुने भएका छन ।