पर्वत महोत्सव : पहिलो पल्ट पर्वत महोत्सव सार्वजनिक चौरमा हुँदै

२६ पुस, पर्वत । विगत १७ बर्ष पहिले देखि पर्वतमा जिल्ला स्तरीय महोत्सवको शुरुवात गरिएको हो । उक्त महोत्सवको मुल आयोजक पर्वत उद्योग बाणिज्य संघ रहँदै आएको छ । पहिलो महोत्सवलाई पर्वत गुप्तेश्वर महोत्सव नामकरण गरिएको थियो । त्यस पछिका महोत्सवहरु पश्चिमाञ्चल स्तरीय महोत्सव बने । पछिल्लो पटक भने गण्डकी प्रदेश स्तरीय पर्वत महोत्सवको रुपमा आयोजना गरिएको छ ।

नीजि ब्यापारीहरुको साझा संस्था उद्योग बाणिज्य संघले आयोजना गर्ने महोत्सवलाई साझा पर्वतबासीको महोत्सव बनाउनका लागि भने विभिन्न संघ संस्थाहरुले त्यसको अपनत्व लिदै आएका छन । यस्ता महोत्सव ५ वटा सम्पन्न भईसकेका छन । २०६० सालबाट शुरुवात भएको महोत्सवका प्रत्येक पटकका नाराहरु भने खुल्ला चौरको निर्माण गर्ने, मनोरञ्जन स्थल तयार गर्ने रहने गरेका थिए ।

सदरमुकाममा ठूलो क्षेत्रफलको सार्वजनिक जग्गाको अभावका कारण यस्तो अवस्थाको सृजना हुने गरेको थियो । कुश्माको बडागाउँ चौरलाई देशमा भएको शसस्त्र युद्धको बेला शसस्त्र प्रहरीले कब्जा गरेसंगै खुल्ला चौरको अभाव हुँदा महोत्सव स्थलको अभाव हुँदै आएको थियो ।

त्यो अभाव भने यस बर्षबाट हट्ने भएको छ । महोत्सव स्थलको रुपमा कुश्माकै पहिलो अग्लो झोलुंगे पुल कुश्मा–ज्ञादी झोलुेगे पुल परीसरमा खेल मैदान तयारी भएसंगै महोत्सव स्थलको समस्या समाधान हुने भएको हो । झोलुगे पुल नजिक जिल्ला खेलकुद विकास समितिले यस अघि नै खेलमैदानको लागि मैदानको विस्तार गर्दै आइरहेको थियो ।

उक्त मैदानलाई विस्तार गरी फराकिलो बनाउने काम यतिबेला भईरहेको छ । पर्वत उद्योग बाणिज्य संघ, कुश्मा नगरपालिका र संघिय सांसदको पहलमा चौर चक्लाउने कार्य हुँदा उक्त क्षेत्रलाई नै पर्वत महोत्सवको आयोजकले महोत्सव स्थलको रुपमा प्रयोग गर्ने तयारी गरेको हो । महोत्सव आयोजक समितिका मुल संयोजक केदार शर्माका अनुसार आगामी बर्षहरुबाट महोत्सव स्थलको समस्यालाई समाधान गर्ने गरी उक्त चौरलाई विभिन्न क्षेत्रको सहकार्यमा चक्लाबन्दी गर्ने काम गरिएको छ ।

महोत्सव स्थल चक्लाबन्दीसंगै महोत्सवका अन्य गतिविधिहरु पनि तिव्र रुपमा अघि बढेको संयोजक शर्माले जानकारी दिए ।

कुशुम खबर दैनिकबाट