पर्वतमा घुम्नै पर्ने यी हुन पर्यटकीय स्थलहरु

२० पुस, पर्वत । नेपाल भ्रमण बर्ष २०२० नेपाल सरकारले घोषणा गरेको छ । देशमा ५० लाख पर्यटक भित्राउने लक्ष्यका साथ घोषणा गरिएको नेपाल भ्रमण बर्ष औपचारिक रुपमा शुरु पनि भईसकेको छ । अंग्रेजी महिनाको जनवरी १ देखि शुरु भएको नेपाल भ्रमण बर्षलाई सफल बनाउनका लागि विभिन्न क्षेत्रबाट प्रचार प्रसार अभियान पनि शुरु भएको छ ।

सरकारले ठूलो धनराशी खर्च गरेर औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरयो भने, देशभर प्रचार प्रसारलाई ब्यापक बनाउने गरी तयारी पनि गरीरहेको छ । पर्वत जिल्लामा पर्यटकलाई भित्राउने केहि यस्ता स्थलहरु छन जसको प्रचार प्रसार हुन सके ति स्थलहरुका एकपटक पर्यटक अवश्य पुग्नेछन ।

गुप्तेश्वर गुफा

जिल्लाको सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर गुफा सात तले अलौकिकक गुफा हो । आवश्यक प्रचार प्रसारको अभावमा यो गुफा पर्वत बाहेक अरु जिल्लामा त्यती प्रसिद्ध छैन । नेपालकै लामो गुफा र भगवान शिवलाई पति पाउँ भनि पार्वतीले तपस्या गरेको स्थलका रूपमा परिचित भए पनि पर्याप्त प्रचारप्रचारको अभावमा यो गुफा ओझेलमा पर्दै गएको हो ।

बालाचतुर्दशी, महाशिवरात्री, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सक्रान्ति लगायतका चाडपर्वहरूमा विशेष मेला लाग्ने गर्दछ । विसं १९९० सालमा स्थानीय रत्नबहादुर कार्कीले दाउरा घाँस काट्न जाने बेलामा भालु लुक्ने दुलो भन्दै गुफा पत्ता लगाएका थिए । त्यसैका आधारमा स्थानीय विद्वान् र धार्मिक व्यक्तित्वहरूले गुफाको अवलोकन गर्दै जाँदा पार्वतीले शिवजीलाई पति पाउँ भनि तपस्या बसेको ठाउँ रहेछ भन्ने मान्यता अनुरूप अनुसन्धान गर्दै जाँदा गुफा पत्ता लागेको स्थानीय सरोकारवालाहरू बताउँछन् ।

गुफाभित्र भगवान् शिवका दसौँ पाउहरू, महाकाली, महालक्ष्मी र सरस्वतीका मूर्तिहरू, शिवलिङ्ग, सरस्वती माताको रूप, शिव पञ्चाङ्ग, नाग र पाँच पाण्डवका मूर्तिलगायत ३३ कोटी भगवान्का आकृति भएका मूर्तिहरू भएकाले यसलाई धार्मिक रूपमा निकै महत्वपूर्ण स्थलका रूपमा मानिँदै आएको छ ।
पोखरा–बागलुङ राजमार्ग देखि ५ सय मिटर तल रहेको यस गुफाको प्रचारप्रसारकै अभावमा गुफामा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्याउन सकिएको छैन । ७०० मिटर लामो उक्त गुफाभित्र विद्युतको राम्रो व्यवस्था नहुँदा दर्शन गर्न आउने भक्तजनलाई समस्या पर्ने गरेको छ । अँध्यारो भएका कारण दर्शनार्थीहरू सबै देवीदेवताहरूको दर्शन गर्न र भित्रका दृश्य हेर्नबाट वञ्चित हुनुपरेको छ ।

शालिग्राम शिला

पर्वतको बिहादी गाउँपालिकामा कालीगण्डकी नदीको किनारमा रहेको ठूलो ढुंगा अर्थात शिलालाई विश्वकै ठूलो शालिग्राम शिला भनिएको छ । शिलामा पूजाआजा गर्नको लागि बिशेषत माघेसंक्रान्तिको अवसरमा भक्तजनहरुको ठूलो भिडभिड हुने गरेको छ ।

सेतीबेणीमा पर्वत, स्याङ्गजा, गुल्मी, म्याग्दी र बागलुङ्ग लगायतका ठाउँका भक्तजनहरु अवलोकन र पूजाआजाको लागि जाने गरेका छन् । पर्वत, स्याङ्गजा र गुल्मीको सिमानामा पर्ने सेतीबेणीमा कालीगण्डकी जलबिद्युत केन्द्रमा बनेको जलासयमा सञ्चालित स्टिमरका कारण आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ । आन्तरिक धार्मिक पर्यटकहरुको राम्रै मन तान्न सफल रहेको शालिग्राम शिला अवलोकनको लागि जिल्ला बिहारका धेरै पर्यटकहरुलाई तान्न सकिएको छैन । शालिग्राम कालीगण्डकी नदीमा मात्र पाईने भएका कारण पनि शालिग्राम शिलाको बिशेष महत्व रहेको छ । शालिग्राम शिला पुग्नको लागि कालीगण्डकी लोकमार्गबाट फलेवास, बाच्छा हुँदै जान सकिन्छ । पर्वत सदरमुकाम कुश्माबजारबाट सवारीमा झण्डै ४ घण्टाको यात्रामा शिलामा पुग्न सकिन्छ ।

अग्ला पुल

पर्वतको सदरमुकाम कुश्मा बजारमा रहेका ४ वटा अग्ला पुलहरु यो क्षेत्रमा अवलोकनीय स्थलहरु हुन । कालीगण्डकी नदीको खेचमा एउटा र मोदी खोलाको खोचमा ३ वटा अग्ला झोलुंगे पुलहरु रहेका छन । जिल्लामा पहिलो पल्ट कुश्मा(ज्ञादी जोड्ने झोलुंगे पुल निर्माण भएको हो । लगतै कुश्मा देखि बागलुङको कैया जोड्ने झोलुंग पुल निर्माण सम्पन्न भयो । यसैगरी कुश्मा देखि मुडिकुवा जोडने र कुश्मा देखि ज्ञादीको अधिकारी फाँट जोड्ने झोलुंगे पुल पनि निर्माण सम्पन्न भएको छ । यी पुलहरुमा पर्यटकहरु रमाउनसक्छन ।

बञ्जि जम्प

दक्षिण एसियाकै अग्लो बञ्जि जम्प निर्माणधिन अवस्थामा छ । कुश्मा बजार देखि बलेवा जोड्ने उक्त बञ्जि जम्प केहि महिना देखि नै शुभारम्भ हुँदैछ । नीजि क्षेत्रको लगानीमा निर्माण सम्पन्न हुँदै गरेको उक्त साहसिक खेलमा सहभागी हुन नेपालबाट मात्र नभई विदेशी पर्यटकहरुको पनि बाक्लो आगमन हुँदा त्यस जिल्लाकै पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने देखिन्छ । यो साहसिक खेलका लागि कुश्मा बजार देखि बलेवा क्षेत्रमा पुल निर्माण गरिएको छ । यो पुल कालीगण्डकी नदी माथि निर्माण गरिएको हो ।

दुर्लुङको क्यानोनिङ

पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङस्थित महभिर झरनामा साहसिक खेल क्यानोनिङ एक बर्षअघिदेखि व्यावसायिक रूपमा सुरु गरिएको हो । साहसिक पर्यटनमा रुची राख्ने स्वदेशी एवं विदेशीको लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल धौलागिरि क्षेत्रमै पहिलोपटक सञ्चालन गरिएको हो ।
१ सय १० मिटर अग्लो झरनामा विगत एक दशकको प्रयासपछि व्यावसायिक रूपमा क्यानोनिङ सुरु भएको हो । दुर्लुङ क्यानोनिङ एण्ड क्याभिङ प्रालिले झण्डै दश लाख रुपैयाँको लागतमा यो खेल सुरु गरेको हो । घना जंगलभित्र रहेको ठूलो छहरामा क्यानोनिङ गर्न दशकअघि नै सम्भाव्यता अध्ययन गरिए पनि अहिले आएर पूरा भएको हो ।

हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रूपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलोपटक क्यानोनिङ सञ्चालन गरिएको छ । पर्वत सदरमुकाम कुश्माबजारबाट झण्डै ७ किलोमिटरको दूरीमा अवस्थित उक्त स्थानमा गुरुङ बस्तीको बाहुल्यता रहेको छ । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेल सडकको व्यवस्था रहेको छ ।

कुश्माबजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय सहर पोखराबाट समेत साढे २ घण्टामा उक्त स्थानमा पुग्न सकिने भएकाले आवश्यक प्रचार प्रसार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्ने विश्वास गर्न सकिन्छ । नेपालका लमजुङ, कास्की, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ हुँदै आएको छ ।

महाशिला

एसियाकै ठूलो भएको दावी गरिएको महाशिला पर्वतको महाशिला गाउँपालिकामा पर्दछ । आवश्यक प्रचारप्रसारकै अभावमा र यसको महत्व देखाउन नसक्दा महाशिलामा आन्तरकि पर्यटकहरु फाटफुट जाने गरेको भएपनि जिल्ला बाहिरका र बिदेशी पर्यटकहरु भने तान्न सकिएको छैन । मेहल ढुंगाको नामले परिचित महाशिला ठूलो क्षेत्रफलमा फैलिएको एउटै ढुंगा हो ।

पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण मानिएको महाशिला दुर्गम गाउँमा भएका कारण उचित(प्रचार प्रसार हुन नसकेको हो । एक दशक अघिसम्म पनि यो स्थानमा हरेक चाडपर्वमा मेला लाग्ने गरेको थियो । तर पछिल्लो समयमा यसप्रति युवाको चासो नहुँदा ओझेलमा पर्दै आएको छ । सदरमुकाम कुश्मा बजारबाट करिव ४० किलोमिटरको दुरीमा पर्ने लुंखुदेउरालीमा रहेको यो ठूलो ढुंगाकै नामबाट गाउँपालिकाको नाम महाशिला राखिएको हो । लुंखुदेउरालीसम्मै मोटरबाटोको सुविधा पुगे पनि पर्यटक पुग्न सकेका छैनन् ।

गाउँपालिकाले महाशिला संरक्षण समिति गठन गरेर संरक्षण र प्रचार प्रसारको काम सुरु भएको जनाएको छ । पहिले उक्त शिला साविकको लुत्तेदेउराली गाविसकै धुँवाकोटमा थियो । पछि तल झरेर साविकको पाखापानी गाविसमा पुगेर अडिएको हो ।

महाशिला गाउँपालिकाले सोही महाशिलामा शिबको सुतेको मूर्ति बनाई विश्वभरका पर्यटक र धार्मिक तीर्थयात्रीहरु भित्रयाउने योजना अघि सारेको छ ।

यान्त्रिक पुल

यति मात्र होइन पर्वत जिल्लामा यान्त्रिक पुलको यात्रा गर्न पाइन्छ । केबलकार मोडलमा नीजि क्षेत्रले लगानी गरेर निर्माण गरिएको उक्त यान्त्रिक पुल तुईनको परिस्कृत रुप हो । तुइन प्रविधिलाई यान्त्रिकीकरण गरी पुल निर्माण गरिएको छ । कालीगण्डकी नदीको गहिरो खोचमा निर्माण गरिएको उक्त पुलमा यात्रा गरी कुश्मा देखि बागलुङको बलेवासम्म जान सकिन्छ । यान्त्रिक पुलको लम्बाई ५ सय ६७ रहेको छ ।

उच्च लेकहरु

जिल्लामा केहि एतिहासिक कोटहरु पनि रहेका छन । दुर्लुङकोट, भवरकोट, पैयूकोट पर्यटकीय हिसावले सम्भावना बोकेका कोटहरु हुन । यति मात्र होइन पर्वत जिल्लामा केहि उच्च पहाडी भेगहरु छन । जसलाई पर्यटकीय हिसावले पनि हामीले यात्रा गर्न सक्छौ । जलजलाको हम्पालको लेक, पञ्चासेको लेक, डहरेको लेक र चिसापानीको लेक अग्ला र पर्यटकीय सम्भावना बोकेका लेकहरु हुन । यी ठाउँहरुमा पुग्दा त्यहाँबाट देखिने दृश्यले सवैको मन लोभाउँछ ।

धार्मिक स्थल

गुप्तेश्वर गुफासंगै पर्वतको कुश्मामा अल्पेश्वर गुफा समेत रहेको छ । यो गुफा दुई अग्ला पुलहरुको वीच भागमा छ । यहाँ मुख्य गरी धार्मिक पर्यटकहरु समेत जान सक्छन । बजारको नजिक भएका कारण यो गुफा पनि घुम्न र हेर्न लायक गुफा मध्येमा पर्दछ । यसैगरी मोदीवेणी धाम र सह्रस्रधारा मन्दिर हिन्दु धर्माबलम्बिहरु पुग्नै पर्ने ठाउँ हुन । कुश्मा बजारसंगै रहेको मोदीवेणी धाम ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । यो क्षेत्र मोदीखोला र कालगण्डकी नदीको संगम स्थलमा छ ।

नरसिह भगवानको साक्षत्कार दर्शन गर्नका लागि यहाँ धर्म मान्नेहरुको घूईचो समेत लाग्ने गरेकोछ । उता, मोदी गाउँपालिकाको क्याङमा रहेको सहस्रधारा मन्दिरमा पनि धर्म मान्नेहरुको अगाध आस्था र विश्वास जोडिएको छ । मागेको बर पाइने विश्वासमा यो मन्दिर पनि एतिहासिक मन्दिर हो । कुश्माकै पाङमा रहेको सहस्रधारा धाम मन्दिरले पनि दर्शनीय स्थल हो । मुख्य गरी मुक्तिनाथ यात्रीहरुले दर्शन गर्नै पर्ने विश्वासले यो मन्दिरको महिनामा पनि धर्मशास्त्रमा ठूलो रहेको छ ।

पर्वत जिल्लाबाट प्रकाशित हुने अर्थ वीट साप्ताहिकमा खबर छ