आगामी निर्वाचनमा उमेदवार नबन्ने कांग्रेस नेता जोशीको संकेत !

१६ पुस, पर्वत । आगामी आम निर्वाचनमा उमेदवार बनेर चुनावी मैदानमा नहोमिने नेपाली कांग्रेसका नेता अर्जुन जोशीले संकेत गरेका छन । ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस पर्वतले आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेता जोशीले आगामी निर्वाचनमा पार्टीका उमेदवारलाई जिताउन प्रचार प्रसार समितिको संयोजकको भूमिकामा रहने समेत बताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका जोशी पर्वत जिल्लाबाट ३ पटकसम्म प्रतिनिधि सभा तथा संविधान सभामा पर्वत क्षेत्र न १ बाट निर्वाचित सांसद हुन । चौथो पटकको निर्वाचनमा भने उनी तत्कालीन बामगठबन्धनका उमेदवारसंग पराजीत भएका थिए ।

जोशीले पाटीभित्रको आन्तरिक एकता यतिवेला निकै कमजोर अवस्थामा पुगेको वताउँदै पर्वत काँग्रेसभित्रको एकतालाई पुरानै अवस्थामा नपुर्याएसम्म भने आफूले राजनीति नछाड्ने समेत बताए । उनले भने ‘अघिल्लो निर्बाचनमा पनि मलाई टिकट चाहिदैन साथीहरूले लिनोस् भनेकै हुँ तर तपाईंहरूले नै मलाई चुनाव लड्न आग्रह गर्नुभएको हो ।’– नेता जोशीले पार्टीमा भावनात्मक एकताको विकल्प नरहेको तर पार्टीका जागरण अभियान र पार्टीले आयोजना गरेका औपचारिक कार्यक्रमहरू बहिष्कार गर्ने र भवन निर्माण प्रक्रियामा अवरोध गर्नेहरूसँग एकता हुन नसक्ने घोषणा समेत घोषणा गरे ।

उनले पार्टी कार्यालय भवन पर्वतका आम कार्यकर्ताको चाहना र प्रतिष्ठाको विषय भएको उल्लेख गर्दै काँग्रेसको आस्था र बिश्वाससँग जोडिएको विषयको विरुद्धमा मोर्चावन्दी गरेर हिँड्नेहरूलाई कार्यकर्ताले नै सजाएँ दिने दावी गरे । नेता जोशीले नेकपा सरकारको नक्कली राष्ट्रवाद र अधिनायकवादी शासनशैलीबाट जनताहरु आत्तिइसकेको जानाकारी दिँदै काँग्रेसमा एकता भयो भने आगामी निर्बाचनमा कम्युनिष्टहरु स्वतः पराजित हुने निश्चित रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङ, कुश्मा नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेस कुश्मा कमिटिका अध्यक्ष रामचन्द्र जोशी लगाएले मेलमिलाप दिवसको अवसरमा आफ्नो धारणा राखेका थिए ।

नेपाली काँग्रेसका पार्टी सभापति खिमप्रसाद भुसालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन जिल्ला कार्य समिति सदस्य कुलप्रसाद उपाध्यायले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला कार्य समिति सदस्य सरस्वती शर्मा जिज्ञासुले गरेकी थिइन । २०३३ साल पौष १६ गते मेलमिलापको नीति लिएर वीपी कोइराला प्रवासबाट नेपाल फर्केको दिनलाई नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।